२५ फागुन, काठमाडौं । विघटित संसद पुनःस्थापना भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन विभिन्न राजनीतिक दलहरूसँग अनेकन् चलखेल र सम्झौता गर्न तयार हुन्छन् ।
ओलीले म्यादी सरकारको निरन्तरता र आफ्नो प्रधानमन्त्री पद जोगाइ राख्न प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)लाई आन्तरिकरूपमा फकाउन थालेको रहस्य खुलेको छ ।
आइतबार प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर सत्ता साझेदारीका लागि छलफल गरेको कुरा बाहिरिएको छ । ओली र अध्यक्ष ठाकुरबीच लामो समय भेटवार्ता भएको ठाकुरनिकट एक नेताले बताए ।
ती नेताका अनुसार; –‘प्रधानमन्त्री ओली ज्यूले हाम्रो पार्टी जसपासँग सत्ता साझेदारी गरेर जान आग्रह गर्नुभयो । र, यही विषयमा केही समय गम्भीर छलफल भयो ।’
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएका थिए । उनले बालुवाटारमा आउन आग्रह गरेपछि अध्यक्ष ठाकुरले आफुनिकट केही नेतालाई साथमा लिएर ओलीलाई भेट्न पुगेका थिए ।
भेटमा ओली र अध्यक्ष ठाकुरबीच सत्ता साझेदारीका लागि छलफल भएको बुझिएको छ । यद्यपि ओलीले ठाकुरलाई सत्ता साझेदारीका लागि प्रस्ताव गरेपनि उनले मानेका छैनन् । तर, उक्त प्रस्तावमा ठाकुरले सर्त राख्दै ओलीलाई भने, –‘यदि हामीसँग सत्ता साझेदारी गर्ने नै हो भने सांसद रेशम चौधरीलाई रिहाइ गर्नुको साथै मुद्दा पनि फिर्ता लिनुपर्छ । र, तुरुन्तै संविधान संशोधन गर्नुपर्छ ।’
अध्यक्ष ठाकुरको यो सर्त ओलीले पूरा गर्ने बताएका छन् । सत्ता साझेदारी गर्ने नै हो भने सांसद रेशम चौधरीलाई तत्काल रिहाइ गर्ने ओलीले सहमति जनाएको जसपाका एक नेताले गोल मिडिया खबरलाई बताए ।
ठाकुरजीले ओलीलाई भन्नुभयो, –‘केही वर्षअघि पृथकतावादी शिके रावत र विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’लाई जसरी मूलधारको राजनीतिमा ल्याउनु भयो । अब हाम्रो सांसद रेशम चौधरीलाई पनि छाड्ने वातावरण मिलाउनु पर्यो ?’
ठाकुरको प्रश्नको जवाफ दिँदै ओलीले सांसद चौधरीलाई रिहाइ गर्ने र उनलाई लगाइएको मुद्दा पनि फिर्ता लिने बताएको ठाकुरनिकट एक नेताले बताए । उनका अनुसार ओलीले जसपाका नेताहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ भने केही दिनमै सांसद चौधरी रिहा हुने उनको विश्वास छ ।
प्रधानमन्त्री ओली स्वयंले पुष ५ गते संसद विघटन गरेका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि उनी सत्ताबाट बाहिरिनुको साटो नैतिकता पचाएरै भएपनि सरकार जोगाउन कहिले नेपाली काँग्रेस त कहिले जसपासँग हातपाउ जोड्न थालेका छन् । यसका लागि उनले ती पार्टीका सर्त मान्न पनि तयार छन् । चाहे ती संवैधानिक हुन्, चाहे असंवैधानिक निक नहुन् ।
त्यस्तै सर्वोच्च अदालतले अस्ति भर्खर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सोमबार (हिजो)देखि नै औपचारिकरूपमा अलग भएका छन् ।
एमालेका १ सय २० सांसद छन् भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीले जसपासँग मिलेर विश्वासको मत जोगाउन सक्ने छन् । त्यही भेउ पाएर ओली जसपासँग सत्ता साझेदारी गर्न उद्दत दे्खिन्छन् । यसकै लागि ओली जसपासँग भेटवार्तामा रहेको बताइएको छ ।
संसद बैठक बुधबार (भोलि) बस्ने भएको छ । यद्यपि भोलि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्तीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । त्यसैले पनि ओलीले जसपासँग सत्ता साझेदारीका लागि लविङ गरिरहेका छन् ।
जसपाका अध्यक्ष ठाकुरको मनसाय ओलीसँगै मिलेर सत्ता सञ्चालन गर्ने भएपनि त्यो सम्भव नभएको एक नेताले बताए । किनकि जसपाभित्र ओलीलाई मन नपराउने नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव छन् । ती नेताद्वय भट्टराई र यादवले ठाकुरको मनसाय नबुझ्न र वास्ता नगर्न सक्छन् ।
त्यसैमा पनि ओलीका लागि जसपाले अर्को सर्त राखेको छ, त्यो हो –‘संविधान संशोधन ।’ त्यसका लागि अब ओली एक्लैले चाहेर सम्भव पनि छैन । यसर्थ जसपासँग सत्ता साझेदारी निकै चुनौती देखिन्छ ।