• मंसिर १३ २०८१, बिहीबार

स्थायी कमिटीको बैठकबाट सल्लाह गरेरै अलग भए प्रचण्ड-माधव

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौँ ।

साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले आइतवार दिएको फैसला अनुसार माधव नेपाल नेकपा एमालेमै फर्किएका छन् भने पुष्पकमल दाहालले माओवादी केन्द्रलाई नै अघि बढाउने भएका छन् ।

बैठकबारे जानकारी गराउँदै एमालेका वरिष्ठ नेता झलनाथ खनालले आ-आफ्नो पार्टीबाट एकताका लागि पहल गर्ने निष्कर्ष निकालिएको बताए । ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ । तर फैसला मान्नैपर्‍यो ’खनालले भने ।

यस्तै, दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले सर्वोच्चको फैसला अनुसार पूर्व एमाले र पूर्व माओवादी केन्द्र छुट्टिने निर्णय गरेको बताउँदै भने ‘सर्वोच्चले दिएको फैसला अनुसार अब हामी माओवादी केन्द्र र नेकपा एमालेका रुपमा अघि बढेका छौँ’, उनले भने, ‘अब एकताका लागि नयाँ ढंगले विकल्प खोज्छौँ। तर सर्वोच्च अदालतले राजनीतिक निर्णय लिएकाले त्यसको प्रतिवाद पनि गर्छौँ।’

सर्वोच्चको फैसलाले ऋषिराम कट्टेलको नेकपालाई वैधता दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेजीमा परेको थियो। यस्तो अवस्थामा पेरिस डाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बिदाइमा परिणत भएको हो ।

बैठक अघि नेपालले नेकपाको एकता जोगाउने गरी आफूनिकट र दाहाल पक्षसँग छलफल गरेका थिए । उक्त छलफलमा नेपालले नेकपाकै एकता बचाइराख्ने वा ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने भन्ने दुई विकल्प निकालेका थिए । अन्त्यमा नेपालले एमालेमै फर्किएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने निर्णय लिएका छन् ।