२४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा (माओवादी केन्द्र) अर्थात् प्रचण्ड पक्षमा नरहने भएका छन् ।
सोमबार (आज) काठमाडौं बानेश्वर स्थित नेपालनिकट स्थायी कमिटी सदस्यको बैठकले उक्त निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
नेपाल पक्षले पूर्वमाओवादी अर्थात् प्रचण्ड पक्षसँग संलग्न नरहने र नेकपा (एमाले)मै रहेर केपी शर्मा ओलीसँग अन्तरसंघर्ष गर्ने बताएको छ । नेपालनिकट एक स्थायी कमिटी सदस्यका अनुसार आफूहरू नेकपा (एमाले)मै रहने छौँ । तर, एमालेमा रहेर ओलीविरुद्ध संघर्ष गर्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतले आइतबार (हिजो) नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइ दिएको छ भने एमाले र माओवादी केन्द्रको एकतालाई वैधता दिएको छैन । यद्यपि उसले दुई पार्टीबीच एकताको वैधानिकता नदिए पनि नेपाल पक्षले आदलतको फैसलाई सम्मान गर्ने बताएको छ ।
एमालेमै रहेर ओलीसँग राजनीतिक तथा वैचारिक संघर्ष र त्यसको सामना गर्ने बताएको नेपाल पक्षले जुनसुकै बेला सिर्जना हुने राजनीतिक संकटका लागि ओलीलाई चुनौती दिने बताएका छ । नेपालनिकट स्थायी कमिटीका १२ जना सदस्य बैठकमा सहभागी भएका थिए ।
उसले माओवादी केन्द्रमा नरहने बताउँदै प्रचण्ड पक्षसँग छलफलका लागि पेरिसडाँडा पुगेको छ । तथापि त्यहाँबाट के छलफल भयो भन्ने बारेमा यो समाचार तयार पर्दासम्म आधिकारिक जानकारी आएको छैन ।