२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले औपचारिकरूपमै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइ दिएपछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । सोमबार (आज) प्रधानमन्त्री ओलीले बालुवाटारमा उनीहरूसँग उक्त छलफल गरेका हुन् ।
ओलीले आफूनिकट मन्त्री तथा नेताहरूसँग भन्दा पनि पूर्वमाओवादीबाट मन्त्री बनेका मन्त्री तथा नेताहरूसँग अनौपचारिकरूपमा छलफल गरेका छन् । छलफलका क्रममा ओलीले प्रश्न गरे, –‘अदालतले औपचारिकरूपमा एमाले ब्यँुताएको छ, अब हामी नेकपा एमाले पार्टीलाई औपचारिकता दिन्छौँ । त्यसका लागि तपाईंहरू के गर्नुहुन्छ ?’
उक्त प्रश्नको जवाफमा पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने, –‘हामीले र्औपचारिक घोषणा गरेरै ओली समूहमा प्रवेश गरेका हौँ । अब हामी कदापि अन्तकतै जादैनौँ । उनले ओलीसामु यसरी स्पष्टोक्ती दिएका छन्, एमाले नै हुन्छु, माओवादी केन्द्रमा जादिनँ ।’
पूर्वमाओवादी कोटाबाट गृहमन्त्री बादललगायत अन्य मन्त्री तथा नेताहरूले आफूहरू ओलीको समूह जता जान्छ । उतै जाने बताएका छन् । यद्यपि नेकपा माओवादी केन्द्रमा सामेल हुन प्रचण्डले आग्रह गरेपनि आफूहरू कोही नजाने अडान राखेका छन् ।
माओवादी केन्द्रका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरि ओली सरकारमा पाँच जना मन्त्रिपरिषदमा छन् । ओली मन्त्रिपरिषद्मा रहेका तीन जना संसद सदस्य छैनन् । माओवादी केन्द्रका शक्तिशाली मानिएका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् । उनी प्रतिनिधि सभा सदस्य नभएर राष्ट्रिय सभा सदस्य हुन् ।
प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री छन् । कैलाली –४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । रौतहट –३ बाट निर्वाचित प्रभु शाह सहरी विकास मन्त्रीमा छन् भने कैलालीबाट निर्वाचित सांसद गौरीशंकर चौधरी श्रममन्त्री छन् ।