• मंसिर १३ २०८१, बिहीबार

तटस्थ रहेकी सांसद शान्ति पाख्रिनलाई मन्त्री बन्न अफर

फाल्गुन २३ २०७७, आईतवार

२३ फागुन, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले समानुपातिक सांसद शान्ति पाख्रिनलाई मन्त्री बन्न अफर गरेका छन् । आइतबार (आज) सांसद पाख्रिन निवास काँडाघारी पुगेर मन्त्री गुरुङले उनलाई मन्त्री बन्न अफर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । तथापि विघटित संसद फागुन ११ गते पुनःस्थापना भए पश्चात् पनि नेकपाको विवाद सुल्झिएको छैन ।

नेकपाको आन्तरिक विवादबाट मुक्त रहेकी सांसद पाख्रिन कुनै पक्षमा छैनन् । ओली र प्रचण्ड–नेपाल दुवै पक्षमा नरहेकी उनीलाई भेट्न उनीकै निवासमा ओली पक्षका नेता एवम् मन्त्रीहरू धाइरहेका छन् ।

आइतबार (आज) विहानै सञ्चार मन्त्री गुरुङ सांसद पाख्रिनलाई भेट्न गएका थिए । उनीसँगको भेटमा मन्त्री गुरुङले पाख्रिनलाई मन्त्री बन्न आग्रह गरेका छन् ।

पाख्रिनसँगको एक घण्टा लामो छलफल पश्चात् मन्त्री गुरुङ बाहिरिएको स्रोतको दाबी छ । मन्त्री बन्ने या नबन्ने विषयमा सांसद पाख्रिनले कुनै आधिकारीक धारणा नराखेको बुझिएको छ ।

भेटको क्रममा मन्त्री गुरुङले उनलाई प्रचण्ड–नेपाल समूहमा नजान आग्रह गरेको स्रोत बताउँछ । यस बारेमा पनि पाख्रिनले कुनै धारणा नराखेको स्रोतको दाबी छ । स्रोतका अनुसार मन्त्री गुरुङलाई मन्त्री बनाउनेभन्दा पनि प्रचण्ड–नेपाल पक्षतिर लाग्ने डर छ ।

सांसद पाख्रिन लामो समयदेखि ओली पक्षमा रहेकी थिइन् । तर, संसद विघटनले नेकपाभित्र आन्तरिक द्वन्द्व सुरु गरेपछि उनी कुनै पक्षमा लागेकी छैनन् । उनी कुनै पक्षमा नलागेको मौका छोपेर मन्त्री उनी कहाँ मन्त्रीकै अफर बोकेर गएको बुझिएको छ ।

सञ्चार मन्त्री पार्वत गुरुङ र समानुपातिक सांसद शान्ति पाख्रिन दोलखाका हुन् । शनिबार (हिजो) बालुवाटारमा आयोजित ओली पक्षको संसदीय दलको बेठकमा पनि पाख्रिन अनुपस्थित थिइन् । उक्त बैठकमा ओली पक्षले आफूसँग ११५ जना सांसद रहेको दाबी गरेको छ भने प्रचण्ड–नेपाल पक्षले पनि आफूसँग ११५ जना सांसद रहेको दाबी गरेको छ ।