• मंसिर १३ २०८१, बिहीबार

ओली र विप्लव पार्टी एकता गर्ने तयारीमा, विप्लव महासचिव बन्ने

फाल्गुन २२ २०७७, शनिबार

२२ फगुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता भएको छ । शुक्रबार (हिजो) राजधानीमा आयोजित कार्यक्रममा सरकार र नेकपाबीच वार्ता भएको हो ।

सरकार र विप्लव नेतृत्वको नेकपाको लामो समयपछिको भेटघाट र छलफल पश्चात् शुक्रबार राजधानीको सभा गृहमा वार्ता सम्पन्न भएको वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताए ।

सरकारसँग लामो समयको सहकार्य र भेटवार्ता पश्चात् वार्ता सम्भव भएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले बताए । केन्द्रीय सदस्य चलाउनेका अनुसार, –‘सरकारका प्रतिनिधि र नेकपाका शीर्षस्थ नेताहरूको योजना र सम्झौताअनुसार वार्ता सफल भएको हो ।’

ओली समूह र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकाएक वार्ता कसरी सम्भव भयो भन्ने जिज्ञासामा दुवै समूहका नेताहरूले लामो समयको आपसी समझदारी र सकारात्मक छलफलको माध्यमबाट वार्ता सफल भएको धारणा राखे ।

तथापि यी दुई समूहका नेताका अनुसार तत्काल वार्ता गरेपनि निकट भविष्यमा पार्टी एकता गर्ने बताएका छन् । प्रधानमन्त्री ओली समूहका एक केन्द्रीय सदस्य भन्छन्, –‘विप्लवलाई हामीले हिंसाको राजनीतिक बाटोबाट अलग्याएर शान्तिपूर्ण बाटोमा ल्याएका छौँ, सायद अबको हाम्रो सहकार्य र गन्तव्य एउटै हुनेछ ।’

उनको यो भनाइअनुसार विप्लव नेतृत्वको नेकपा अन्ततः ओली समूहसँग पार्टी एकता गर्ने पक्षमा देखिन्छ । विप्लव वार्तामा आउनुपूर्व नै ओलीले तत्काल वार्ता सम्पन्न गरि सरकारमा आउन आग्रह गरेका थिए । यद्यपि यस विषयमा विप्लवले कुनै धारणा सार्वजनिक गरेनन् ।

वार्ता पश्चात् ओली र विप्लवबीच नियमित भेटवार्ता भैरहेको बालुवाटार स्रोतको दाबी छ । उनीहरू प्रायः समय अनुकूल पारेर विहान या साँझतिर भेट्ने गरेको बताइएको छ । भेटका क्रममा दुवै नेताले पार्टी एकताको तयारी गरिरहेको स्रोत बताउँछ ।

वालुवाटार स्रोतका अनुसार, –‘ओलीले पार्टी एकताका लागि प्रस्ताव गरेका छन् भने विप्लव यस विषयमा निकै सकारात्मक भएको बताइएको छ । तर, विप्लवले यस बारेमा अहिलेसम्म पनि मुख खोलेका छैनन् । बरु उनले आफू सकारात्मक रहेको प्रतिक्रिया दिँदै आएको स्रोत बताउँछ ।’

यद्यपि पार्टी एकता नभए पनि चुनावका लागि संयुक्त गठबन्धन गर्ने दुवै थरिका नेताहरूले बताएका छन् । तर, विप्लव चुनावमा जाने वा नजाने निक्र्यौल भने भैसकेको छैन । यदि चुनावमा जानै गरे गठबन्धन गरेर जाने झन्डै निश्चित भएको ओलीनिकट एक नेताले गोल मिडिया खबरलाई बताए ।

वार्तामा आउनुभन्दा एक महिना पहिले ओलीले आफू पछाडिको नेता विप्लव भएको दाबी गरेका थिए । ओलीको यो अभिव्यक्ति सुन्दा विगतदेखि नै यी दुईबीच छलफल र भेटघाट हुँदै आएको बुझिन्छ । छलफल र भेटघाटमात्रै होइन, ओलीले वार्ताका लागि पहिले नै वातावरण तय गरेको देखिन्छ ।

शुक्रबार (हिजो) वार्ता गरे पश्चात् विप्लवलाई पार्टी एकताका लागि ओलीले प्रस्ताव गरेको पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतले बताए । बस्नेतका अनुसार, –‘प्रधानमन्त्री ज्यूले विप्लव कमरेडलाई पार्टी एकता गरौँ र तपाईं महासचिव बन्नुस् भनेर आग्रह गर्नु भयो । तर, विप्लव कमरेडले यस बारेमा केही बोल्नु भएको छैन ।’

ओलीको यस आग्रहको सम्बन्धमा विप्लव समूहका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ भन्छन्, –‘प्रधानमन्त्रीले महासचिव बन्न आग्रह नगर्नु भएको होइन, हो । तर, यस विषयमा पार्टीभित्र छलफल गर्नैपर्छ । तब मात्र निष्कर्षमा पुग्न सकिन्छ ।’

यदि पार्टी एकता भएमा विप्लव पार्टीको महासचिव बन्नका लागि सकारात्मक रहेको विप्लवकै अर्का एक केन्द्रीय सदस्य बताउँछन् । कदाचित् यी दुई समूहबीच एकता भए के हुन्छ, त्यो हेर्न बाँकी छ ।