• बैशाख १९ २०८२, शुक्रबार

झापामा मारिएका सहिदका परिवारलाई सामुहिक रुपमा सम्मान

फाल्गुन २१ २०७७, शुक्रबार

बिर्तामोड । तत्कालिन पंञ्चायती शासकद्धारा झापा र इलामको सिमामा २०२९ सालमा जेल सार्ने बहानामा हत्या गरिएका ५ सहिदको श्रद्धाजलीसभामा झापा बिद्रोहका सहिदका परिवार र जनयुद्धमा झापामा मारिएका परिवारलाई सामुहिक रुपमा सम्मान गरिएको छ ।

नेकपा झापामा माधव– प्रचण्ड समुहको आयोजनामा भएको कार्यक्रममा तत्कालिन शासकद्धारा सुखानीमा हत्या गरिएका नेत्र घिमिरेकी श्रीमती तथा संविधानसभाकी सदस्य जीवन घिमिरे, छोरी दिव्य घिमिरे, कृष्ण कुइकेलका भाई सूर्य कुइकेल, रामनाथ दाहालकी श्रीमती शान्ता दाहाल , नारायण श्रेष्ठका दाजु सन्तकुमार श्रेष्ठ लगायात ८६ जना सहिदका परिवारलाई सामुहिक सम्मान गरिएको हो ।

नेकपाकी केन्द्रिय सदस्य तथा तत्कालिन झापा बिद्रोहकी योद्धा तथा नख्खु जेल ब्रेकर गौरा प्रसाई, नेकपाका केन्द्रिय सदस्य रविन कोइराला , नेकपा झापाका अध्यक्ष वेदराज रेग्मी लगायातले दोसल्ला ओड्याएर सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सहिद नेत्र घिमिरेकी छोरी दिव्य घिमिरेले सहिदले देखाएको बाटो हिड्नुको साटो नेताहरु बढी सुविधा भोगी हुदै गएकोले पार्टीमा विग्रह निम्तिएको भन्दै नेताहरुलाई सच्चिएर आउन आग्रह गर्नुभयो ।
नेकपा केन्द्रिय सदस्य प्रसाईले बहुमतको सरकार हुदाहुदै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले फेरि ताजा जनादेश लिन जनतासमक्ष जान्छु भन्नु ठुलो भुल भएको बताउनुभयो ।
यता नेकपा ओली पक्षद्धारा शुक्रवार विहान श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, संघिय सांसद एलपी साँबालिम्बु लगायातले सम्बोधन गर्नुभएको थियो । उक्त समुहको भव्य कार्यक्रम गर्न प्रसार प्रसार गरिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायातका वक्ता प्रधानमन्त्रीको काठमाण्डौमा विप्लप समुहसगको बार्ता कार्यक्रमका विच नआउने भएपछि विहान ८ बजे स्थानीय नेताकै उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउनुभयो ।

अन्य पालिकाहरुमा समेत शहिदका शालिकहरुमा माल्यापण गरि सहिद दिवश मनाइएको पाठकले बताउनुभयो ।