हेमन्तप्रकाश वली । नेपाल कम्युनिस्ट पार्टी चितवनले सहिद सप्ताह २०७७ को अवसरमा सहिद परिवारलाई अभिनन्दन गरेको छ । नेकपा चितवन जिल्ला इञ्चार्ज आरम्भको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाश चन्द, राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी, अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हिरामणि चापागाईं लगायतको सहभागिता थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा भरतपुर महानगरपालिका इञ्चार्ज पुरणले गरेका थिए । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आरम्भले सहिदको त्याग र बलिदानको कदर गर्दै पार्टी पुनर्गठनदेखि नै सहिदका परिवारलाई उच्च सम्मान गरेको बताए । उनले सहिदका अधुरा सपना पूरा गर्न आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको झण्डा उठाएको बताए ।
कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनीले अहिलेको नेपाली समाजको चेतना र उपलब्धीहरु सहिदहरुको बलिदानबाट प्राप्त भएको भन्दै सहिदहरुलाई सम्मान गर्नुवर्ने बताए । उनले सहिदका परिवारलाई अपहेलित र अपमानित गर्ने कुरा स्विकार्य नहुने चेतावनी दिए ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका महासचिव प्रकाश चन्दले संसदवादको फोहोरी डंगुरभित्र केही सिमित व्यक्तिलाई व्यवस्थापन गर्न सहिदहरुले आफ्नो अमूल्य जीवनको आहुती नदिएको बताए । उनले सहिदका सपना पूरा गर्ने दृढ संकल्प लिएर आफूहरु लडिरहेको बताए । कार्यक्रममा जिल्लाका २३ जना सहिद परिवारहरुलाई सम्मान गरिएको थियो ।