• मंसिर १३ २०८१, बिहीबार

अर्थमन्त्रीले शिलान्यास गर्न लागेको मञ्च स्थानीयले भत्काए

फाल्गुन २० २०७७, बिहीबार

रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका छन् । औद्योगिक व्यवस्थापन लिमिटेडको ढिलासुस्ती तथा स्थानीयको विरोधका कारण औद्योगिक करिडोरको काम अगाडि बढ्न सकेको थिएन । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएपछि तयार गरिएको मञ्च मोतिपुरका स्थानीयले भत्काइदिएका हुन् ।

आफ्नोको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले उक्त मञ्च भत्काइदिएका हुन् । यसअघि गत १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि तय भएको हो । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने तिनाउ नदीको उकास क्षेत्रको करिब १ हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने गरी दुई वर्षपहिले नै औद्योगिक क्षेत्र कार्यालयसमेत शुभारम्भ गरिएको थियो ।

झन्डै २ सय जनाको समूहमा आएका स्थानीयवासीले कार्यक्रमका लागि तयार गरिएको मञ्च र स्तम्भ भत्काइदिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा अचानक स्थानीयको ठूलो समूह आएर हुलहुज्जत गरेर मञ्च र शिलास्तम्भ भत्काएर मञ्च निर्माण गरिरहेका कामदारलाई समेत लखेटेको उनले बताए ।

यसअघि बिहीबार बिहान स्थानीयले पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरेका थिए । उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै अन्यथा सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

२०७३ सालमा स्थलगत निरीक्षणबिना ३ हजार ६२ घर र करिब २ सय ५० विगाहा जग्गासहित ८ सय १३ विगाहा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गास बासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको शुद्धोधन गाउँपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेको भनाइ छ ।