• मंसिर ११ २०८१, मंगलवार

झण्डै ३ वर्षपछि खुलाहुँदै विप्लव

फाल्गुन २० २०७७, बिहीबार

सरकारले प्रतिबन्ध खुला गर्ने भएपछि विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत जीवनबाट खुला हुने भएका छन् । सरकारले उनको पार्टीलाई प्रतिबन्ध लगाएको २ वर्ष पुग्नै लागेपनि सो पार्टीमाथि प्रतिबन्ध लाग्नुअघि नै महासचिव विप्लव भूमिगतजस्तै अवस्थामा थिए । झण्डै ३ वर्षदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका विप्लव पार्टी निकटका सञ्चारमाध्यममा भने बेलाबेला भिडियो अन्तरवार्तामा देखिने गरेका थिए ।

विशेष अवसरमा उनकै पार्टीद्वारा सञ्चालित सञ्चार माध्यममा अन्तरवार्ता दिंदै आएपनि आम सञ्चारमाध्यमबाट उनी टाढै रहने गरेका थिए । सरकारसँगको जारी वार्ता प्रक्रियामा सरकार उनी नेतृत्वको पार्टीमाथिको प्रतिबन्ध फुकाउन राजी भएसँगै विप्लव सार्वजनिक हुन लागेका हुन् । भोलि शुक्रबार सरकार साथै विद्रोही पक्षबाट राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी ओलीसँगै महासचिव विप्लवले सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीसँगै राजनीतिक मञ्चमा उभिँदा विप्लवले के भन्नेछन् भनेर नेपाली जनता चासोपूर्वक हेरिरहेका छन् ।

हाल विप्लव देशको कुन ठाउँमा रहेका भन्ने सो पार्टीका सिमित नेताबाहेक अरुलाई जानकारी नभएको बताइन्छ । गोल मिडिया खबरलाई विशेष सुत्रले दिएको जानकारी अनुसार विप्लवलाई राजधानी ल्याउन सरकारले हेलिकोप्टर पठाउने तयारी अवस्थामा राखेको छ । २०७५ साल फागुन २८ गते केपी ओली नेतृत्वको सरकारले सो पार्टीमाथि असंवैधानिक तवरले प्रतिबन्ध लगाएको थियो । दलीय व्यवस्थाको सर्वोच्च अभिव्यक्तिका रुपमा रहेको संविधानमा कुनै पनि राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने कुराको परिकल्पना गरिएको छैन । पार्टीमाथि प्रतिबन्ध लागेपछि सो पार्टीका २ हजार बढी नेता तथा कार्यकर्तालाई यो सरकारले गिरफ्तार तथा धरपकड गरेको थियो ।

कयौं नेता तथा कार्यकर्तालाई झुठा मुद्दा लगाई जेलमा हालेको छ । साथै कयौंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिंदा समेत अदालतको आदेशलाई लत्याउँदै बारम्बार अदालत परिसरबाट गिरफ्तार गर्ने क्रमलाई निरन्तरता दिएको छ । हाल सो पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ता गरि १८ जना प्रहरी हिरासतमा रहेका छन् । झुट्ठा कसुरमा सो पार्टीका १२६ जना नेता तथा कार्यकर्ता जेलमा रहेका छन् । भोलि विप्लवले राजधानी काठमाडौँको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीसँगै एउटै मञ्चबाट सम्बोधन गर्नेछन् ।