• मंसिर १३ २०८१, बिहीबार

विप्लव नेकपालाई ३ वटा मन्त्रालय दिने सरकारी प्रस्ताव

फाल्गुन २० २०७७, बिहीबार

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्याएर छाड्ने तयारी गरेको छ । विप्लव नेकपाको वार्ता टोलीसँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भएको र वार्तापछि दुवै पक्ष उत्साही भएको बताइएको छ ।

वार्तामा ओली नेतृत्वको सरकारसँग विप्लव नेकपाले ठूलो लाभ लिने चाहना नराखेको भए पनि सरकारले भने उसलाई मूलधारमा ल्याएर सरकारमा समेत सहभागी गराउने ‘पासा’ फ्याँकेको छ ।

‘केपी ओली नै प्रधानमन्त्री भइरहे विप्लव समूह सरकारमा आउनेछ । उसलाई एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग यस्तो प्रस्ताव गरेका हुन् र ओलीले सहमति जनाएका छन्’, उच्च सरकारी स्रोतले भन्यो ।

स्रोतका अनुसार विप्लवका सर्त पूरा भए उसका सबै नेताकार्यकर्ता खुला राजनीतिमा आउनेछन् । सरकारले वार्तालाई चमत्कारका रुपमा लिएको छ ।

‘एकदुई दिनमा चमत्कार हुनेछ’, सरकारी वार्ता टोलीका एक सदस्य भने, ‘अहिले कसैले पनि नसोचेको काम हुन्छ ।’ कस्तो चमत्कार भन्ने खुलेको छैन ।
आजको नागरिक दैनिकमा समाचार छ ।