१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापना गरे पश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केही मथ्थर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्ष, विरोध सभा र आन्दोलनलगायत अन्य कार्यक्रम रोकिएका छन् भने ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) पक्षको सत्ता संघर्ष उत्कर्षमै छ ।
ओली र प्रचण्ड–नेपाल पक्षको सत्ता संघर्ष उत्कर्षकै क्रममा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भैरहेको छ । यसका लागि बुधबार (आज) केन्द्रीय समितिको बैठक बसेको छ ।
केन्द्रीय समितिको बैठक बस्नुभन्दा अगाडि स्थायी कमिटीको बैठक बसेको प्रचण्ड–नेपाल पक्षनिकट एक केन्द्रीय नेताले गोल मिडिया खबरलाई बताए । स्थायी कमिटी बैठकले यस विषयमा निर्णय गरि केन्द्रीय कमिटीको बैठकमा छलफल गरेको बताइएको छ ।
यसका लागि बुधबार (आज) नै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेसँगै आज बैठक बसेको हो ।
प्रधानमन्त्री ओली आफैले राजीनामा नदिएने संकेत देखिएकोले उनलाई हटाउनै पर्ने निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताएका थिए । उनका अनुसार सोमबार (अस्ति) यस विषयमा सांसदहरूसँग पनि छलफल भएको छ ।
ओलीले आफूखुसी राजीनामा नदिने र संवैधानिक बाधा सिर्जना गर्न सक्ने भएकाले उनलाई बहुमतबाटै हटाउनु पर्ने बताइएको छ । प्रचण्ड–नेपालनिकट एक नेताका अनुसार प्रधानमन्त्री आफैले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गरे पनि उनले नैतिकताको आधारमा राजीनामा नदिने संकेत देखिएकोले उनलाई बहुमतबाटै हटाउन लागिएको बताए ।
प्रचण्ड–नेपाल पक्षले आफूसँग सांसदहरूको बहुमत भएको दाबी गरे पनि हालसम्म ओलीविरुद्ध कुनै कदम चालेको छैन । बरु उसले विभिन्न राजनीतिक दलसँग साझेदारी गरेर सत्ता सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
प्रचण्ड–नेपाल पक्षलाई प्रधानमन्त्री ओलीले पोखरा लगायतका अन्य कार्यक्रममा आफूलाई हटाउन ठाडो चुनौती दिँदै आएका छन् । मंगलबार (हिजो) झापाको एक कार्यक्रममार्फत पनि उनले आफूलाई हटाउन चुनौती दोहोर्याएका हुन् ।
‘सोमबार (अस्ति) ओलीले पोखरामा भने, –‘विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौँ । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौँला, डेढ वर्षपछि दुई तिहाइ ल्याएर सरकारमा जान्छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिए नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको छ । यस बारेमा दुई पार्टीबीच घनिभूत छलफल भैरहेको काँग्रेस पार्टीका एक नेताले बताए ।
यसअघि नै प्रचण्ड–नेपाल पक्षले काँग्रेस र जसपासँग सत्ता साझेदारी वा अन्य कुनै विकल्पका लागि भेटवार्ता गरिसकेको छ ।
प्रचण्ड–नेपालनिकट एक नेताका अनुसार आफूहरूले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने बताएका छन् । यसका लागि आफूहरू छलफल गरिरहेको ती नेताले बताए ।
तथापि संसद पुनःस्थापना पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले प्रचण्ड–नेपाल पक्षसँग सत्ता साझेदारी नगर्ने बताएको छ ।
नेपाली काँग्रेस र जसपाले (प्रचण्ड–नेपाल) पक्षसँग अब बन्ने सरकारका लागि साझेदारी नगर्ने बताएको थियो ।
यी दुई पार्टीले आधिकारिक निर्णय गरि लिखित रूपमा सत्ता साझेदारी नगर्ने स्पष्टोक्ती दिएका थिए । त्यस्तै पार्टीका शीर्षस्थ नेताहरूले पनि विभिन्न कार्यक्रममार्फत प्रचण्ड–नेपाल पक्षसँग तत्काल सत्ता साझेदारी नगर्ने बताउँदै आएका थिए ।
काँग्रेसले अहिलेको परिस्थितिमा सत्ता साझेदारीका लागि कसैलाई साथ नदिने भएको छ । गत बिहीबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारीसँगको बैठक बसालेर सत्ता साझेदार नगर्ने निर्णय गरेका छन् ।
नेकपा अहिले एकै रहेकोले यसको नेता ओली नै भएकोले यस विषयमा छिनोफानो नभएसम्म काँग्रेसले सत्ता साझेदारीका लागि कुनै पार्टीलाई साथ नदिने सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका थिए ।
उनले भनका थिए, –‘उहाँहरूको पार्टी अहिले एकै छ । उहाँहरूको नेता ओली नै हुनुहुन्छ । उहाँहरू एकै भएर जान सक्नुहुन्छु । यसर्थ काँग्रेस हतारिएर यो पक्षमा लाग्छु, त्यो पक्षमा लाग्छु भन्नु हुँदैन । पार्टीको निष्कर्ष यही नै रह्यो । अहिलेको अवस्थामा मिलेर सत्ता सञ्चालनको कुनै औचित्य छैन ।’
प्रचण्ड–नेपालले सत्ता साझेदारीका लागि काँग्रेससँग प्रस्ताव गर्नु अन्यथा होइन । तर, अहिलेको अवस्थामा प्रचण्ड–नेपालमात्रै होइन, ओली पक्षले पनि यस्तो प्रस्ताव ल्याएको खण्डमा त्यो पार्टीका लागि स्वीकार्य नहुने काँग्रेसले बताएको थियो ।
यो अवस्थामा नेकपाको दुवै पक्षका लागि काँग्रेसले साझेदारी गर्नु नै मुर्खता हुने सहमहामन्त्री डा. महत बताएका थिए । हामीले यो वा त्यो पक्षका लागि साझेदारी बनेको खण्डमा हाम्रो अपरिपक्वता हुन्छ र त्यसैले हामी तत्काल यी दुई पक्षका लागि साझेदारी बन्न सक्दिनौँ ।
२३ गते संसदको बैठक बसेपछि के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै सहमहामन्त्री डा. महतले भनेका थिए, –‘नेकपा अघि बढ्छ त्यही अनुसार अघि बढ्ने तयारी काँग्रेसले गर्नेछ । नेकपाले के निर्णय गर्छ त्यो काँग्रेसको नियन्त्रणभित्रको कुरा होइन । सत्ता समीकरणबारे काँग्रेसले यसो गर्छ, उसो गर्छ भन्ने स्थिति अहिले नै आइसकेको छैन ।’
पुष ५ गते विघटित संसद फागुन ११ गते पुनःस्थापना भएको भोलिपल्ट अर्थात् १२ गते प्रचण्ड–नेपाल पक्ष सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा प्रचण्ड र नेपालले सत्ता सञ्चालनको साझेदारीका लागि प्रस्ताव गरेका थिए ।
प्रचण्ड–नेपालको उक्त प्रस्तावका लागि देउवाले पार्टीसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए । गत बिहीबार बसेको पार्टी पदाधिकारीको बैठकको निष्कर्षअनुसार काँग्रेसले तत्काल कुनै पार्टीलाई सत्ता साझेदारीका लागि समर्थन नगर्ने निर्णय गरेको थियो । काँग्रेससँग सत्ता साझेदारीका लागि सर्वप्रथम नेकपा प्रष्ट हुनुपर्ने काँग्रेसले अडान राखेको थियो ।
त्यस्तै जनता समाजवादी पार्टी जसपाले पनि प्रचण्ड–नेपाल पक्षसँग सत्ता साझेदारीका लागि आनाकानी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गत बिहीबार सत्ता समिकरणका लागि जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसँग छलफल गरेका थिए ।
प्रचण्ड–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ कोटेश्वर पेरिसडाँडा पुगेका थिए । श्रेष्ठले गत बुधबार पनि प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । उनीहरूबीच झन्डै डेढ घण्टा छलफल चलेको थियो ।
छलफलका क्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रचण्ड–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको बताए । ‘उहाँहरू कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुरा राख्नुभयो’ –नेता महतोले भने । ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो भनेर जिज्ञासा राखेका छौँ ।
राजनीति अस्थिर र सम्भावनाको खेल हो । केही दिनअघि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले यस्तो बताए पनि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड–नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न लागेका हुन् ।