• मंसिर १३ २०८१, बिहीबार

केपी ओलीको पक्षमा ९२ सांसद पुग्ने सांसद महेश बस्नेतको दाबी

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ९२ सांसद पुग्ने दाबी गर्नुभएको छ । फेरि पनि प्रधानमन्त्री ओलीले नै निरन्तरता पाउने उहाँको भनाइ छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझाव समेत दिनुभयो । ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस्,’ उहाँको भनाइ छ ।

केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने बताउँदै बस्नेतले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको र एकताको लागि धेरै जटिलता रहेको सुनाए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आंकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाइ छ ।

बस्नेतले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’