कास्की । पोखराको अमरसिंह चौरमा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना गरिँदैछ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाने छन् ।
पोखरा ओर्लिए लगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न जानेछन् । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका सह–इञ्चार्ज किरण गुरुङले जानकारी दिए ।
कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुल लगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिफ्रिङ गर्ने छ । पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्वीमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमनत्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनु हुनेछ ।’ ओली सोमबार नै काठमाडौं फर्किने छन् ।
यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आमसभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँतहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओराल्दै छ । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।