काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउनुभएको छ ।
मन्त्रालयद्वारा आइतबार आयोजित आमसञ्चारमाध्यमका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताउनुभयो ।
उहाँले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता हुन नदिइने सङ्कल्प गर्नुभयो ।
सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो । ५५ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकताप्रप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
उहाँले भन्नुभयो, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौँ । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खेपको खरीदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन । यस पक्षमा सञ्चारकर्मीहरुले कुनै भ्रम र नकारात्मक टिप्पणी नगरिदिनुहोला । कानूनविपरीतका कुनै पनि काम हामी गर्ने छैनौँ ।’