• मंसिर १२ २०८१, बुधबार

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भयो : नेपाल

फाल्गुन १५ २०७७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड-माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए । कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफूले ‘बालुवा पेलेर तेल निस्किँदैन तरपनि कोसिस गर्नुस्’ भनेको बताए ।

उनले भने, ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । प्रधानमन्त्रीबाट हटाउने कुरा गर्ने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोस जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो, केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब प्रयास गर्नुहोस् भनेर मैले भनेको छु, यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस् ।’

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।