नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले संसद पुनर्स्थापनाको फैसला गर्ने न्यायाधीशहरूलाई धम्क्याएका छन् । उनले अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन् ।
‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’ ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिने पनि बताएका थिए ।
‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ । प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’, पोखरेलले भने । उनले अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि बताए । ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरूको सामना गर्छ,’ पोखरेलले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।