मार्क्सवादी एकता अभियानले आज काठमाडौंमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले जनयुद्धको उपलब्धि अझै पूरा नभएको बताएका छन् । ‘जनयुद्ध र वर्तमान राजनीतिक व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । सहिद सप्ताहको अवसरमा आज यस्तो कार्यक्रम गरिएको हो । अन्तरकृया कार्यक्रममा राजनीतिकर्मी, श्रष्टा, सर्जक, साहित्यकार तथा समालोचकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रिय अध्यक्ष एकराज भण्डारीले नेपालको संविधान खिचडी संविधान भएको भन्दै युद्धबाट आएका नेताहरुले नै देशको राजनीति थिलथिलो बनाएको आरोप लगाए ।
प्राध्यापक रमेश शर्माले रगत, आँशु र पीडाले मात्र जनताका हक र अधिकारको संरक्षण गर्दै आएको धारणा राखे । उनले राणा शासनको अन्त्य गर्न गंगालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त माथेमाको बलिदान पछि नेपाली जनातले जनयुद्धमा ठूलो मात्रामा बलिदेवीमा आफ्ना सन्ततीलाई चढाउनु परेको बताए ।
अर्का वक्ता निलकण्ठ तिवालीले जनयुद्ध दलालको फन्दामा पुर्याइएको भन्दै आक्रोस व्यक्त गरे । जनयुद्धका घाइते गंगाबहादुर लामाले राज्य सञ्चालकप्रति आक्रोस व्यक्त गरे । उनले भने, ‘कि हामीलाई मार कि हाम्रो माग सम्बोधन गर ।’
उनले आफूहरुसित गुनासो मात्रै रहेको भन्दै अपाङ्गहरुको माग कस्ले पुरा गर्ने हो ? भन्दै प्रश्न गरे । अर्का वक्ता तथा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका दाजू परशुराम रम्तेलले जनयुद्धले नै दलित समुदायलाई चेतनसिल बनाएको बताए । कांग्रेस नेता चन्द्र भण्डारीले आजका नेपाली नेताहरु दुनियाँसँगै बदलिन नसकेको भन्दै यी नेताहरुका कारण जनताले दुःख पाएको धारणा राखे ।
कार्यक्रमका अर्का वक्ता तथा नागरिक अगुवा सुन्दरमणि दिक्षितले जनयुद्ध माथी धोका भएको बताए । उनले लिपूलेकमा नेपाली झण्डा गाड्ने विप्लवलाई किन प्रतिबन्ध लगाएको ? भन्दै प्रश्न गरे ।
पत्रकार तथा लेखक नरेन्द्रजंग पिटरले देश मरिरहेको छ तर नेताहरु बाँचिरहेका छन् भन्दै जनयुद्ध राजनैतिक, साँस्कृतिक र आर्थिक युद्ध भएको भन्दै नेताहरुले नै यस्लाई बिगारेको आरोप लगाए ।
जनयुद्धमा शाही सेनाको ब्यारेकमा बन्दी बनाइएकी बन्दी तथा घाइते भावना विद्रोहीले चलचित्रमा समेत देख्न नसकिने दृश्य सैनिक हिरासतमा भोगेको भन्दै सहिदका सपना पुरा गर्न माओवादीहरुका बीचमा एकता हुनुपर्नेमा जोड दिइन् । कार्यक्रमका अर्का वक्ता शम्भू थापाले जनयुद्धका बन्दीहरुलाई जेलबाट छुटाएर घरमै पुर्याएको अनुभव सुनाउँदै अहिलेको राज्यबाट जनताको हित हुन्छ भन्ने आशा राख्नु बेकार भएको बताए । उनले अब आउने समाजवादमा कस्को स्थान के हुन्छ ? भन्नेमा स्पष्ट हुनु पर्ने विचार व्यक्त गरे ।