कास्की । पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण लामो समय ठप्प रहेको पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र रहेका मानिसहरु घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् ।
देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखराका पर्यटन व्यवसायी बताउँछन्
विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् ।
प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो । कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो ।
पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेष्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ । पोखराका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।
यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक आउन शुरु भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
कोरोना संक्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य माघदेखि सञ्चालनमा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले जनाएको छ । पर्यटकीयस्थल पर्यटकका लागि खुला भएपछि आन्तरिक पर्यटक बढ्दै गएका हुन् ।
प्रकृति र संस्कृतिको सङ्गम घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण दोस्रो, बुद्ध, हिमालचुली, लमजुङ, डा हर्क गुरुङ पिक, मनास्लुलगायत हिमाल छर्लङ्ग देखिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यले पनि सबैलाई मोहित बनाएको छ। ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ सङ्ग्रहालय, दृश्यावलोकनस्तम्भ उत्तरकन्या मन्दिर, कोइवो धिँलगायत सम्पदा र छिमेकी गाउँ घनपोखरा, भुजुङ र बाग्लुङपानीमा हाइकिङ गर्न जाने पर्यटकको चहलपहल छ ।