गोलमिडिया सम्वाददाता
चुनदेवी निकै परिचित नाम हो । यो सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्छ । नगरपालिकाको ५ र ६ वडाको क्षेत्रमा फैलिएको चुनदेवी आजभोलि चोरको बिगबिगी हुन थालेको छ । यसको आसपासमा इलाका पनि असुरक्षित हुँदै गैरहेका छन् ।
पहिले शान्त र रमाइलो रहेको वस्ती केही समययता चोरहरूको अखडामा परिणत हुन गएको छ । यहाँ लागूपदार्थ दुव्र्यसनीको पनि निकै बढ्दो प्रभाव छ । यसैका कारण पनि यहाँ चोरी हुने गरेको छ । दुव्र्यसनका लागि कुलतमा फसेका युवाले चोरीको बाटो अपनाउन थालेका छन् । यो इलाका अहिले चोरीका लागि पनि कुख्यात हुँदै गएको छ ।
नगद त देख्न पनि हुँदैन । आज नहोला भोलि लुटेर लगिहाल्ने गरेका छन् । हरेकका आजभोलि आवश्यकताका सामग्री बनेका मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका सामान दिनैपिच्छे हराउने गरेका छन् । नगद र गरगहना त उनीहरुका आँखा लाग्नै हुँदैन, क्षणभरमा सफा पारिएका छन् । स्थानीय मानिसहरु पनि यो क्रियाकलापबाट वाक्कदिक्क हुँदै गएका छन् ।
विशेष गरी यो गाउँका युवाहरूको दुव्र्यसनीमा संलग्न हुने प्रक्रिया निकै बढ्दो छ । यस क्षेत्रमा भक्तपुर गेष्ट हाउस, सूर्यविनायक रिसोर्ट, रेष्टुरेण्ट आदि रहेका छन् । तर पनि सुरक्षाका हिसाबले अत्यन्त कमजोर छ यो ठाउँ । यहाँ सुरक्षा चौकी पनि छैनन् । अन्य सुरक्षाका उपाय अपनाउने केही कुरा वा संभावना पनि छैन । स्थानीय जनताले सुरक्षाको व्यवस्था गर्नसक्ने अवस्था पनि छैन ।
यहाँदेखि टाढा कटुञ्जे र जगातीमा प्रहरी पोस्ट छन् । खबरको व्यवस्था पनि छैन । यदि खबर नै गरिहाले पनि त्यहाँबाट प्रहरी आउँदा घण्टौं समय लाग्छ । त्यतिबेलासम्म अपराधीले सहजै रुपमा अपराध गरेर उम्किइसकेको हुन्छ । गएको माघ महिनामा मात्र दर्जनौ ठाउँमा चोरी भयो । उजूरी गर्ने निकाय नै नभए पछि मानिसले उजुबाजुरको कुनै प्रयास गरेका छैनन् । उल्टै दुस्मनी बेसाउने किन प्रहरी सधैं बसिराख्ने होइन भन्ने मानसिकताले घर गर्दै जान थालेको छ ।
माघ २३ गते साहित्यकार रत्ननिधि रेग्मीको चुनदेवी हाइटस्थित टहरोबाट धनमाल चोरी गरियो । त्यसको अत्तोपत्तो छैन । स्थानीय जनताको सामान हराएको हरायै हुन्छ । कतै साइकल त कतै मोटरसाइकल चोरी भैरहेको हुन्छ । मन्दिरमा पनि सुरक्षाको व्यवस्था छैन । मोबाइल चोरी हुने वस्तुमा सबैभन्दा बढी पर्दछ ।
चोरी त कतिसम्म पनि बढेर गएको छ भने बाख्रा फारमबाट रातमा बाख्रा चोरेर लैजाँदै गर्दा चोर भागेर बाख्रा डोर्याउन बाँधेको डोरीसहित खोरमा फर्केको भेटिएको छ । धेरैपल्ट गल्ती गर्ने पक्राउ परे पनि तुरुन्तै प्रहरी हिरासतबाट छुटेकाले उनीहरूको मनोबल बढेको देखिन्छ । सूर्यविनायक रिसोर्ट मास्तिरको चउर दुव्र्यसनीको अखाडा नै छ । त्यहाँ सुइ, सुइका खोल र चुरोटका ठुटाहरू बग्रेल्ती भेटिन्छन् । सूर्यविनायक रिसोर्टबाट भक्तपुर गेष्ट हाउस निस्कने गोरेटोमा दुव्र्यसनीको जमघट हुने गर्दछ । यिनीहरूले रातमा मात्र होइन, हुल बाँधेर दिउँसै पनि चोर्ने, बाटो हिँड्नेलाई लुट्ने गरिरहेका छन् ।
अब त यी बाटाहरुमा दिउँसोको समयमा पनि एक्लैदोक्लै मानिस हिंड्न गाह्रो हुने अवस्था सिर्जना भैसकेको छ । यिनीहरू हुल बाँधेर हिँड्ने गर्छन् छिरफोर बोल्ने, हात हाल्ने, तर्साउने, लखेट्ने गर्छन् । समाजवाट टाढा हुँदै गएका यिनीहरु ग्याङमा बस्न थालेका देखिन्छन् । स्थानीय बासिन्दाले प्रहरी बोलाए पनि घलाँटे प्रहरीले सूर्यविनायक प्रहरी र सूर्यविनायक प्रहरीले घलाँटे प्रहरीलाई देखाउँछन् । आफूहरु आउन तयार हुँदैनन् । के राज्यले दुव्र्यसनी इलाका घोषणा गरेको हो, चुनदेवीलाई ?