• मंसिर १२ २०८१, बुधबार

ओली युगको अन्त्य भयो, त्यता रहेका साथीहरु यता आउनुस् : नेपाल

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले आजको सर्वोच्चको फैसला लगत्तै ओली समूहमा रहेका कार्यकर्तालाई आफ्नो समूहमा फर्कन आग्रह गरेका छन् ।

नेपालले ओली सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई ऐतिहासिक फैसला भएको जिकिर गर्दै संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि खुसियाली मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अदालतको फैसलासँगै अब ओली युगको अन्त्य भएको घोषणा समेत गरे । ‘सत्यको जीत भयो, न्यायको जीत भयो । नेपाली जनताको जीत भएकोमा हामी खुसी छौँ,’ उनले भने ।

‘कतै उज्यालो फैलिएको छ, कतै अन्धकार पनि होला । कतै साँझमा सूर्य उदाइ पनि रहेको छ, कतै अस्ताइ रहेको पनि होला । कतै खुसियाली छाएको छ, कतै मातम छाएको पनि होला,’ उनको भनाइ छ ।

नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा भएका नेता–कार्यकर्ताहरुलाई आँखा खोलेर अब भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । उनीहरुलाई आफ्नो पार्टीमा फर्कन आग्रह गर्दै नेता नेपालले भने, ‘ओली कम्युनिस्ट भन्न लायक थिएनन् अब लोकतन्त्रवादी लायक छैनन् । अब ओलीको पक्षमा भएका केही साथीहरुलाई मूल कम्युनिस्ट पार्टीमा फर्कन आग्रह गर्दछौँ । हामी स्वागत गर्नेछौँ । ढिला नगर्नुहोला ।’

संविधानको सर्वोच्चताको पक्षमा उभिने पूर्व प्रधानन्यायाधीश, निर्वाचन आयुक्तहरु, न्यायाधीश, नागरिक समाज, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नेपाली जनतालाई धन्यवाद दिए । उनले भोलिको जुलुस बिरोध जुलुस नभएर विजय जुलुस हुने घोषणा गरे ।