विद्यार्थी नेता तिलकराज भण्डारीद्वारा संकलित तथा सम्पादित पुस्तक ‘जनयुद्धको हस्ताक्षर’ बिमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक बिमोचन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भण्डारीद्वारा लिखित सो पुस्तक नयाँपुस्तालाई त्यस समयको प्रभाव बुझाउने माध्यम भएको बताए ।
पुस्तक बिमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘यस पुस्तकबाट नयाँ पुस्ताले इतिहास बुझेर त्यसबाट प्रेरित हुन सहयोग गर्छुु, बिगतको १० वर्षे जनयुद्धमा सामेल भएका सहपाठीहरुबीच युद्धको सिलसिलामा टाढा रहँदा आदान प्रदान गरिएका विभिन्न ११२ वटा चिट्ठी–पत्रहरु समेटेर सो पुस्तक प्रकाशन भएकोमा आफूलाई खुशी लागेको छ ।’
सो अवसरमा बोल्दै सो समूहका स्थायी समिति सदस्य तथा केन्द्रिय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले सो पुस्तक नेपाली कम्युनिष्ट आन्दोलनको ज्ञान दिनेवाला सन्दर्भ सामग्री भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा समिक्षक प्राध्यापक रमेश भट्टराईले झापा आन्दोलनले संकेत गरेको जनयुद्ध नेपाली क्रान्तिको एउटा प्रष्फुटन भएको र त्यही प्रष्फुटनमा अनौपचारिक रुपमा पोखिएका भावनालाई संकलन गरेर भण्डारीले क्रान्तिको एउटा दस्तावेज तयार गरेको विचार व्यक्त गरे ।
सो पार्टीका युवानेता तथा अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रिय अध्यक्ष रमेश मल्लले भण्डारीद्वारा संकलित सो पुस्तक जनयुद्धको एक महत्वपूर्ण अध्यन सामग्री बनेको बताए ।
भण्डारी २०५४ सालमा अखिल (क्रान्तिकारी)मा संगठित भएर माओवादी जनयुद्धमा सहभागी भएका थिए । २०५६ सालमा जनयुद्धमा भूमिगत भएका उनी २०५८ सालमा अखिल (क्रान्तिकारी)को सल्यान जिल्ला समिति सदस्य बनेका थिए । भण्डारी २०५९ सालमा सोही संगठनको जिल्ला उपाध्यक्ष र २०६१ सालमा अध्यक्ष हुँदै सो संगठनको केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए ।
बिमोचन कार्यक्रम अनेरास्ववियूका सह–संयोजक रंजित तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम उत्तम अधिकारीले संचालन गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई सुरेन्द्र बस्नेतले स्वागत गरेका थिए ।