• मंसिर १२ २०८१, बुधबार

प्रचण्ड-माधवजी प्रधानमन्त्री खोज्न मै भएको ठाउँमा आइपुग्नुहुन्छ : प्रधानमन्त्री

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए  पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्न आफैं भएको ठाउँमा आइपुग्ने दाबी गरेका छन् । आफू निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड र नेपालको प्रधानमन्त्री हुने कुनै  मौका नरहेको पनि बताए । ‘यदि उहाँहरुले जित्नुभयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नुहुन्छ, त्यसका लागि पनि मकहाँ आउनुहुन्छ’, ओलीले संसद पुनःस्थापना भएपनि प्रधानमन्त्री आफै हुने संकेत गरे । नेकपा अहिले एकढिक्का भएको भन्दै कुनै प्रकारको समस्या नभएको र बाटो विराउनेलाई फर्कन आग्रह गरे ।

उनले संसद पुनःस्थापना हुन नसक्ने भन्दै सूर्य चिन्ह पनि आफ्नै नेतृत्वको नेकपाले पाउने दावी पनि गरे । ‘अदालतलाई राम्ररी थाहा छ । पुनःस्थापना भयो भने के हुन्छ ?’ कथमंकदाचित पुनःस्थापना भयो भने के हुन्छ भन्दा प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’ ओलीको भनाइ छ ।

‘बिचरा मलाई प्रचण्डजीको माया लाग्छ । के खान गएको कहाँ डुबेर मर्यो भनेजस्तो भएको छ…’ आलीको भनाइ छ । उनले केपी ओली पराजित मानसिकतामा गइसक्यो, डिफेन्सिभ भइसक्यो भनेर आएका समाचारहरुमा सत्यता नभएको टिप्पणी गरे ।

उनले आफू गोलघरमा बस्दा पनि यसैगरी बोल्ने र यस्तै आत्मविश्वास भएको र अहिले पनि उस्तै रहेको बताए । ‘उतारचढावसँग, छालसँग डराएर समुन्द्रमा पस्न सकिँदैन । हामी छालहरू पार गरेर अगाडि बढ्छौँ । जस्तोसुकै परिस्थितिको सामना गर्छौँ’, ओलीको दावी छ ।

ओलीले प्रचण्ड-माधव पक्षलाई झिँगा र आफूलाई मौरीसँग तुलना गर्दै युवाहरुले झिँगा र मौरी छुट्याएकोमा आफूलाई खुसी लागेको बताए । ‘मौरीले मह जम्मा गर्छ, घार बनाउँछ । आफू पनि खान्छ अरुलाई पनि वितरण गर्छ । झिँगाका पछाडि लाग्यो भने फोहोरको डुंगुरमा पुग्छ । त्यहाँ पुगेपछि आफू पनि रोगी बन्छ र अरुलाई पनि बिरामी पार्छ’, ओलीको भनाइ थियो ।