काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च पुगेका हुन्। दुबैबीच २० मिनेटसम्म सर्वोच्चमा भेटेवार्ता भएको थियो।
भेटमा सर्वोच्च अदालतको नयाँ भवन बनाउने क्रममा सेनाले प्रयोग गर्दै आएको जग्गाको विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता ब्रिगेडिएर सन्तोषबल्लभ पौडेलले पनि क्याबलरीमा सेनाले प्रयोग गरिरहेको ३७ मध्ये ९ रोपनी जग्गाको भोगाधिकार सर्वोच्च अदालतलाई हस्तान्तरण भएको जानकारी दिए ।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।