काठमाडौं। सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ। आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप काठमाडौँ आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।