• बैशाख १७ २०८२, बुधबार

मकवानपुरमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा हवाई फायर

फाल्गुन ९ २०७७, आईतवार

हेटौंडा । मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच झडप भएको छ। बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ-१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच राक्सिराङ-१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।