काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आन्दोलनमा रहेका दलहरुलाई राजनीतिको मुलधारमा आउन आग्रह गरेका छन् । उनले लोकतन्त्रका मूल्य र मान्यताबाट कोही भाग्न नसक्ने भन्दै राजनीतिक मुलधारमा आउन आन्दोलनरत दललाई मूल धारमा आउन आग्रह गरेका हुन् । उनले विप्लव नेकपालाई यस्तो आग्रह गरिएको अनुमान गरिएको छ । ओलीले नै विप्लव नेकपालाई २ वर्षअघि प्रतिबन्ध लगाएका हुन् । एनसेलमाथि बम हमला गरेका कारण ओली सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाउन परेको बताएको छ ।
प्रजातन्त्र दिवशको अवसरमा आज काठमाडौंको टुडिखेलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा नबिराउने बताए । सभामा बोल्दै ओलीले भनेका छन्,‘सरकार लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिचिँदैन । जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’
प्रधानमन्त्री ओलीले आजको दिनलाई युगान्तकारी र गौरवपूर्ण दिनका रुपमा स्मरण गर्नु पर्ने बताए । उनले नेपाली जनताको विकास, सुशासन र सुखी जीवनको चाहना प्राप्तिका लागि सक्रियताका कारण फागुन ७ लाई हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा सगौरव मनाइँदै आएको बताए । प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।
लोकतन्त्रलाई बिना व्यावधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउँने भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सक्नुपर्ने बताए । ‘अस्थिरता लोकतान्त्रिक प्रणालीभित्रैबाट अस्थिरता खोज्नेहरुलाई निस्तेज गर्न र कुबाटोमा लोकतन्त्रलाई धकेल्नबाट नयाँ निर्वाचन घोषणा गरिएको छ । लोकतन्त्रलाई अलमलमा पार्ने कुनै काम हुन सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।