• बैशाख १७ २०८२, बुधबार

बीना अनुमति निकुन्जभित्र कार्यक्रम छायांकन गरेका सुधिर चौधरीलाई कारबाही सिफारिस

फाल्गुन ६ २०७७, बिहीबार

काठमाडौं ।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकन गरेको भन्दै भारतीय सञ्चार माध्यम जी–न्युजका सम्पादक सुधीर चौधरीलाई कारबाही गर्न सिफारिस गरेको छ। हेलिकोप्टर होभरिङ तथा नियमनका सम्बन्धमा सबै हेलिकोप्टर सेवा प्रदायकहरूलाई पत्र काट्दै चौधरीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।

बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकनसमेत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको र कारबाहीका लागि सिफारिस भएको निकुञ्जको भनाइ छ। निकुञ्जले हेलिकोप्टर कम्पनीहरूलाई लेखेको पत्रमा लेखिएको छ–‘कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा यस कार्यालयको लिखित अनुमति विना छायांकन गरेकोमा आवश्यक कारबाहीका लागि लेखी पठाएको ।’

निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण नगराउनसमेत सबै सेवा प्रदायकहरूलाई आग्रह गरेको छ । पुस २६ गते चौधरीले सिम्रिक एयरको हेलिकोप्टर निकुञ्जमा अवतरण गराई छायाँकन गरी भारतीय सञ्चार माध्यम जी–न्युजमा प्रसारण गरेका थिए। उनले त्यसको एक दिन अघि मात्र काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएका थिए ।