काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेपनि बलात्कार भने नगरेको दाबी गरेका थिए । पोष्टमार्टम प्रतिवेदनले भने बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर सोध्दा बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । यद्यपि परिवारले भागरथीको शव अझै बुझेको छैन । उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।
सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।