प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा तोडफोड गरेपछि जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त बनेको छ। आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा खलंगा तनावग्रस्त बनेको हो । भीड तितरवितर गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही आन्दोलनकारी घाइते भएका छन् ।
दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनीहरुलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको र सोधपुछ पछि उनलाई छोडिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा नाराजुलुस सहित ढुङगामुडा गरेका थिए ।
मोवाइल चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीले पदम बुढासहित ७ जनालाई माघ १८ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले छाडिसकेपछि उनी स्वास्थ्यमा समस्या देखिएपछि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि अभिभावकसँग गएका थिए ।
खुटामा चोट लागेर सुन्निएको अवस्थामा अस्पताल गएका उनको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ।
मृतकका आफन्तलेहरुले भने मोवाइल चोरी गरेको आरोपमा प्रहरीले निर्मम तरिकाले कुटपिट गर्दा मृत्यु भएको बताएका छन् ।