५ फागुन, काठमाडौं । प्रतिनिधि सभा विघटन पश्चात्् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको छ ।
नेकपा दुई समूहमा विभाजन भएसँगै नेता वामदेव गौतम तटस्थ बसेका छन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) समूहमा नरहेको बताउँदै आएका छन् ।
प्रतिनिधि सभा विटघन भएसँगै गौतमले सार्वजनिक रूपमै आफू कुनै पनि समूहमा नभएको र नरहने उद्घोष गरिसकेका छन् । उनले यो कुराको उद्घोष गरेसँगै हालसम्म नेता गौतम कुनै समूहमा समाहित भएका छैनन् ।
बरु उनले नेकपा दुई समूहलाई एकता बनाएर लैजाने भन्दै एकता कार्यदलसमेत गठन गरेका छन् । उक्त कार्यदलको माध्यमबाट पार्टीलाई एक ढिक्का बनाएरै छोड्ने गौतमको प्रण छ । यद्यपि उनले के गर्ने हुन् ? यस विषयमा भोलिको समयले बताउने नै छ ।
तथापि प्रधानमन्त्री ओलीले नेता गौतमलाई बारम्बार आफ्नो समूहमा समाहित गर्न मन्त्री पदको प्रलोभन देखाइरहेका छन् । यसअघि पार्टी दुई समूहमा विभाजन नहुँदै ओलीले गौतमलाई कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको प्रलोभन नदेखाएका होइनन् ।
तर, किन हो, कुन्नि ? ओलीले देखाएका ती प्रलोभनमा गौतम परेका छैनन् । यद्यपि ओलीले गौतमलाई आजसम्म पनि मन्त्री तथा पार्टीको जिम्मेवारी सुम्पिन्छु भन्दै विभिन्न आश्वासन देखाइरहेका छन् ।
यस सम्बन्धमा नेता गौतमले सार्वजनिक रूपमै ओलीको कुनै पनि आश्वासन वा प्रलोभनमा नपर्ने बताउँदै आएका छन् । आफूलाई ओलीले बारम्बार अनेकन् वाचा दिएको तर ती पूरा नगरेको भन्दै बेला–बेला गौतमले आक्रोश पोख्दै आएका छन् ।
सांगठनिक रूपमा कमजोर बन्दै गएका प्रधानमन्त्री ओली कसरी संगठन बलियो बनाउने भन्नेमा देखिएका छन् । उनले तत्कालिन माओवादीका शीर्ष नेता एवम् जनमुक्ति सेनालाई समेत आफ्नो समूहमा समाहित गरेका छन् ।
कसरी हुन्छ, आफ्नो समूह बलियो बनाउने पक्षमा रहेका ओलीले नेता गौतमलाई बारम्बार मन्त्रीको कार्ड फालिरहेका छन् । यसपटक भने गौतमलाई गृहमन्त्री बन्न ओलीले प्रस्ताव नै गरेका छन् ।
नेता गौतमनिकट एक नेताले भने, –‘बैशाखमा चुनाव निश्चित हुन्छ । तपाईं गृहमन्त्री बन्नु भन्दै कर गर्नु भएको छ । तर, यस विषयमा उहाँले नबन्ने प्रतिक्रिया दिनु भएको छ ।’
बरु उहाँले भन्नु भएको छ, –‘पार्टीभित्र रहेका अन्तरसंघर्षको अन्त्य गरि पुनः पार्टी एकता गर्नु आजको अपरिहार्य छ । जसका लागि पार्टी फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने गौतमज्यूको तर्क छ ।’
उनले भने, –‘बैशाखमा चुनाव गराउने वा नगराउने उहाँको हातको कुरा हो । तर, बादल गृहमन्त्री हुँदाहुँदै गौतमलाई प्रस्ताव गर्नु उनीमाथि अपमान गर्नु हो ।’ बरु प्रधानमन्त्री ओलीले गौतमलाई गृहमन्त्रीको प्रस्ताव गर्नुभन्दा भएकै मन्त्रीहरूबाट सन्तोष लिनु राम्रो हुन्छ ।
रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदाहुँदै वामदेवलाई मन्त्रीको कार्ड बाड्न खोज्नु सरासर बादलमाथि अन्याय भएको बादलनिकट एक नेताले भने । उनी भन्छन्, –‘यसरी बादलमाथि अन्याय गरेको खण्डमा हामी ओली समूहमा रहिरहन सक्दैनौँ ।’
यदि गौतमलाई नै गृहमन्त्री नियुक्त गरे ओली समूहमा रहिरहन नसक्ने बादलको मनसाय भएको उनी निकट एक नेताले बताए ।