• मंसिर १२ २०८१, बुधबार

सत्ताको उन्माद प्रस्तुत नगर्न कांग्रेसको चेतावनी

फाल्गुन ४ २०७७, मंगलवार

काठमाडौं ।  बैतडीको डिलासैनीमा मंगलबार पार्टीले आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रममा भएको आक्रमणप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् । उनले नेकपाबाट नियोजित रुपमा आक्रमण भएको भन्दै आपत्ति जनाएका हुन् । प्रवक्ता शर्माले नेकपाभित्र उग्रवादी चरित्र देखिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले डिलासैनी घटनामा संलग्नलाई तत्काल कारबाही गर्न मागसमेत गरेका छन् ।

‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री केपी ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ’, प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’

कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको आक्रमणमा पार्टीका केही साथीहरू घाइते भएको र केही सवारी साधनमा तोडफोडसमेत गरिएको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो ।