काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गर्नुभएको छ । सोमबार आफू निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाँझ आग्रह गर्नुभएको हो ।
देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठूलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले जमिन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने उहाँको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गर्नुभयो । आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने उहाँको भनाइ छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गर्ने बताउनुभयो । आफू सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै उहाँले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गर्नुभयो ।