• मंसिर १२ २०८१, बुधबार

भूमिगत पार्टीको खुल्ला सभाः १७ सदस्यीय युवा संगठन निर्माण

फाल्गुन ३ २०७७, सोमबार

हेमन्तप्रकाश वली, दाङ । सरकारले प्रतिबन्ध लगाएको भूमिगत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ घोराही नगरको  दोश्रो सम्मेलन घोराहीमा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै सो पार्टीका दाङ जिल्ला इञ्चार्ज प्रेमले देशमा दलालीकरण, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढिरहेकाले त्यसका विरुद्ध निर्मम संघर्ष गर्न आह्वान गरे ।

उनले आफ्नो पार्टीले राष्ट्रघात, जनघात, भ्रष्टाचार तथा दलालहरुका विरुद्ध संघर्ष गरेकै कारणले दलाल पुँजिवादी सत्ता अत्तालिएर प्रतिबन्ध लगाएको जिकिर समेत गरे । नेता प्रेमले एकीकृत जनक्रान्तिको कार्यदिशामा सम्पूर्ण युवाहरु गोलबन्द हुन र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको दिशामा अघि बढ्न अपिल समेत गरे ।

कार्यक्रमका युवा संगठनका राप्ती ब्यूरो इञ्चार्ज अनिलले युवाहरुको काँधमा ऐतिहासिक जिम्मेवारी थपिएको र त्यो पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित भएर हुनुपर्ने बताए । कार्यक्रममा संगठन जिल्ला संयोजक मनोज, नेकपा घोराही नगर इञ्चार्ज जनक, अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक अनिलको सहभागिता थियो भने भने कार्यक्रमको सहजीकरण खुमनले गरेका थिए ।

सम्मेलनले प्रभुत्वको नेतृत्वमा १७ सदस्यीय नगर समिति चयन गरेको छ । सरकार र विप्लव पार्टीबीच वार्ताको वातावरण बन्दै गइरहेका बेला यसरी खुल्ला सभाहरु भइरहेको अनुमान गरिएको छ ।