काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले कास्कीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने बताएका हुन्।
कार्यक्रममा उनले भने, ‘मै कानुन हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन पूर्वराजा ज्ञानेन्द्रकै हालत हुनेछ।’’संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ । नेकपाले जनताको मतको अवमूल्यन गरेको छ ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास उनले व्यक्त गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ । ’
प्रधानमन्त्री ओलीले तानशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको पनि उनले बताए ।