• बैशाख १७ २०८२, बुधबार

मलेसियामा नेपाली कामदारको मृत्यु भएमा परिवारले आजीवन पेन्सन पाउने

फाल्गुन २ २०७७, आईतवार

काठमाडौं । श्रम स्वीकृति लिएर मलेसिया जाने नेपाली कामदारको मृत्यु भएमा आश्रित परिवारले आजीवन पेन्सन पाउने भएका छन् । श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पाउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले जानकारी दिए । मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था ‘सोक्सो’ कार्यक्रम अन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका हुन् ।

मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आबद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘डेढ वर्षअघि सोक्सोका प्रतिनिधि भ्रमण आएका थिए । त्यतिवेला सोक्सोकोे विषय उठान भएको थियो । सोहीबमोजिम उनीहरूले प्रस्ताव पठाएका हुन् उनले भने । सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषदले समेत पारित गरेको छ । त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने उनले बताए ।

सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने उनको भनाइ छ । मलेसिया जाने नेपाली श्रमिकलाई मलेसियन रोजगारदाता कम्पनीले सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनु पर्नेछ । सामाजिक सुरक्षामा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १.६० प्रतिशतबराबर रकम जम्मा गर्नुपर्नेछ । यो रकम रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिकबाट भने कटाउन नपाउने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

नेपालबाट श्रम स्वीकृति लिएर वैधानिक रूपमा मलेसियामा कार्यरत नेपाली श्रमिक मात्रै सोक्सोमा आबद्ध हुन पाउनेछन् । त्यसैले रोजगारदाता कम्पनीले श्रमिक लैजाने निश्चित भइसकेपछि सोक्सोमा श्रमिकको विवरण दर्ता गराउनु पर्नेछ । नेपाली श्रमिक सोक्सोमा आबद्ध हुन पाउने व्यवस्थाले मलेसियाको रोजगारी सुरक्षित बन्दै जाने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

‘यस व्यवस्थाले रोजगारदाता कम्पनी र मलेसियन सरकारलाई दुवैलाई जिम्मेवार बनाउनेछ । त्यस्तै, गैरकानुनी रूपमा बस्न निरुत्साहित गर्नेछ’ उनले भने । त्यस्तै, नेपाल सरकारलाई पनि अन्य मुलुकसँग यस्तै सम्झौता गर्न बाटो खुला गर्ने उनले बताए । नयाँपत्रिका दैनिकमा समाचार छापिएको छ ।