• बैशाख १७ २०८२, बुधबार

रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते

फाल्गुन १ २०७७, शनिबार

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौँदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन् ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस चरौंदी बजारमा रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।

दुर्घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी हिरामाया गुरुङ र नवलपरासी रजहरकी कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । माइक्रोको गति तीव्र रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।

केही दिनयता पृथ्वी राजमार्गमा गम्भीर प्रकृतिका दुर्घटना भइरहेका छन् । बुधबार पृथ्वीराजमार्गको थाँक्रेमा मोटरसाइकल र ट्रक जुध्दा आगो लागेपछि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यस्तै, गत माघ १९ गते पनि थाँक्रेमै रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।