काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहलाई लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पीडामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पीडामा आँशु खसाउँछौँ ।’
उनले आफूहरुका कामले दाहाल-नेपाल समूह आत्तिएको, डराएको समेत बताए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए । ‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।
‘शाहदत भएका, अंगभंग भएकाहरु कस्तो अवस्थामा छन्, सबै पीडितको हालत के छ ?,’ ओलीले भने, ‘हिजो प्रचण्डले उचालेर झुटा सपना देखाएका घाइते लडाकु सबै प्रकारका पीडितलाई सम्मानपूर्वक परिचयपत्र वितरण गर्छौँ । उनीहरुका घरका एक सदस्यलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गर्छौं ।’
प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’
उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’ उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुकाे न्यायका लागि सरकार कटिबद्ध लागिपरेको बताए ।
‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीले भने ।