काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् ।
डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा भएको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको पनि बताए ।
‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकैठाउँ छौँ । हजारांै सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ । प्रचण्डले लामो समयको संघर्षबाट प्राप्त उपलव्धि खोस्ने प्रयास भएको भन्दै ऐतिहासिक जिम्मेवारी थपिएको बताए ।