• बैशाख १७ २०८२, बुधबार

फागुन १९ गतेदेखि २२ गतेसम्म जनकपुर साहित्य महोत्सव दोस्रो संस्करण हुने

माघ ३० २०७७, शुक्रबार

काठमाडौं। नेपाली साहित्यको उन्नयनका लागि ‘फोन पे’ जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ ।आयोजक संस्था नव मिथिला फाउन्डेसन र सह-आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएका हुन् ।

यही फागुन १९ देखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा हुने सो महोत्सवमा साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् भने १५ जना सहजकर्ताले प्रश्न सोध्नेछन् ।

“जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ ।”, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, “जनक, जानकी, याज्ञवल्क्य र विद्यापतिको शहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ।”

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य-पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । “सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गईरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ ।”

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताए ।

डिजिटल दुनियाँमा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक ‘फोन पे’ नेपालका निर्देशक सुवास शर्माले उल्लेख गरे।

नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता महोत्सवमा हुनेछ । महोत्सवमा कवि, उपन्यासकार, पत्रकार, मिडिया-व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञलगायतका क्षेत्रबाट सहभागिता रहनेछ ।

महोत्सवमा जनकपुरको सांस्कृतिक, सामाजिक जीवनका झाँकी प्रस्तुत हुनुका साथै शहरका विभिन्न भागमा हुने कार्यक्रमले थप रौनकता थप्नेछ । मैथिल् संस्कृति गाम्भीर्य बुझ्दै र स्थानीय खानाका परिकारका स्वाद चाख्दै आफूलाई चिन्न जनकपुर साहित्य महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन्।