काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेस आफ्नै महाधिवेशन कहिले हुन्छ भन्ने कुरामा बेखबर देखिएको छ । फागुन ७ गतेदेखि महाअधिवेशन हुने वा नहुने भन्नेमा कसैलाई कुनै पनि खबर छैन । पार्टी केन्द्रीय कार्यालय रहेको सानेपामा पनि न त यसको बारेमा टिकाटिप्पणी चल्छ, न त आधिकारिक सूचना नै टाँस गरिएको छ ।
गत वर्ष पुस महिनामा गरिएको सूचनाअनुसार नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ देखि १० गते काठमाडौंमा तोकिएको थियो । क्रियाशील सदस्यताको विवरण संकलन नभएको भन्दै स्थगित भनी नेताहरुले प्रचार गरे पनि यसको आधिकारिक सूचना केन्द्रीय कार्यालयमा समेत नहुँदा यसले सबैलाई आश्चर्यमा पारेको छ । महाविधेशनको कार्यतालिका संशोधन गरिए पनि त्यसलाई केवल माइन्युटमा थन्क्याइएको छ ।
आफ्नै आन्तरिक विवाद हल गर्न नसकेको नेपाली कांग्रेस पार्टी महाधिवेशन गर्नबाट दुईदुई पटक पछि परिसकेको छ । यसमा नेपाली कांग्रेसका सभापतिसहितको टिमको स्वेच्छाचारिताले काम गरिरहेको फरक मतका नेताहरुको भनाइ छ । उनीहरुको भनाइमा यस्ता कमजोर कार्यसम्पादनले गर्दा नेपाली कांग्रेसले खेल्नु पर्ने प्रतिपक्षको भूमिका निकै कमजोर हुन गई देशमा यो राजनीतिक संकट सिर्जना हुन पुगेको हो ।
सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीभित्रै सूचनाको हक बारेमा यस्तो वेवास्ता देखिए पछि नेपालको लोकतान्त्रिक गणतन्त्रको हालत सजिलै बुझ्न सकिन्छ ।