• मंसिर १२ २०८१, बुधबार

दुई मन्त्री प्रचण्ड-नेपाल समूहमा फर्किने थाहा पाएपछि मन्त्रीहरूमाथि प्रधानमन्त्री ओलीको निगरानी

माघ २९ २०७७, बिहीबार

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ ।

नेकपा दुई समूहमा विभाजन भएसँगै एक समूहको नेतृत्व ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गर्दै आएका छन् ।

सबैभन्दा ठूलो राजनीतिक दल नेकपा दुई समूहमा विभाजन हुनुले देशमा हलचल मच्च्एिको छ । प्रचण्ड–नेपाल समूह सडकमा आन्दोलित छ भने ओलीले काम चलाउ सरकारको अगुवाइ गरिरहेका छन् ।

पुष ५ गते ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपालमात्रै होइनन् । अन्य राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र साना पार्टी, नागरिक समाज, अधिकारकर्मीहरू सडक संघर्षमा उत्रिएका छन् ।

प्रचण्ड–नेपाल समूहले ओलीको कदमविरुद्ध तेस्रो चरणको सडक आन्दोलन बुधबार (हिजो) सम्पन्न गरेको छ । देशैभरबाट हजारौँको संख्यामा आफ्ना नेता तथा कार्यकर्ता राजधानीमा उतारेर भव्य विरोध सभा सम्पन्न गरेको आन्दोलनका संयोजक नाराण्काजी श्रेष्ठले बताए ।

उक्त सभामा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्षस्थ नेताहरू पनि उपस्थित भएका थिए । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शीर्ष नेता झलनाथ खनाललगायतका नेताहरूले उक्त सभामा सम्बोध गरेका थिए ।

सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले ओलीले नेतृत्व गरेको सरकारका बहालवाला दुई मन्त्री आफ्नो समूहमा फर्किन लागेको दाबी गरेका छन् । तथापि उनी दुई को–को हुन् ? उनले खुलाएका छैनन् ।

बरु उनले भनेका छन्, –‘हामी कहाँ फर्किनेको लामो लिष्ट छ, ‘उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)ले नै बनाएका दुई जना मन्त्री फर्किन मसँग वार्ता गरिरहेका छन् ।’ तर, उनीसँग वार्ता गरिरहेका ती मन्त्रीहरू को हुन्, विवरण खुलाइएको छैन ।

यद्यपि ओली सरकार छाड्ने सम्भावित मन्त्रीहरूमध्ये टोपबहादुर रायमाझी, प्रभु शाह, दावा लामा, मणिचन्द्र थापा र गौरीशंकर चौधरी हुनसक्ने बताइएको छ । पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टबाहेक अन्य मन्त्रीले ओली सरकार छोड्ने व्यापक हल्ला चलेको छ ।

तथापि वर्तमान समयमा प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि रुष्ट भएको खबर बाहिरिएका छन् । केही दिनअघि युवा संघ नेपालको पुर्नगठन पश्चात् बादल रुष्ट बनेका हुन् ।

बुधबार (हिजो) राजधानीमा आयोजित बृहत् विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि यतिबेला बालुटारमा रडाको मच्चिएको छ भने प्रधानमन्त्री बहुत सशंकित भएको बताइएको छ ।

संसद विघटन पश्चात् सांगठनिक रूपमै ओली कमजोर बन्दै गएका छन् । आफू कमजोर बन्दै गएपछि पूर्वमाओवादी खेमाका नेताहरू आफ्नो समूहमा समाहित गरेका छन् । ओली मन्त्रीको अस्त्र प्रयोग गरेरै भए पनि उनीहरूलाई आफ्नो समूहमा त्रित्र्याउन अहोरात्र जुटेका छन् ।

उनले यसअघि पूर्वमाओवादी लडाकु कालीबहादुर खामको टिमलाई आफ्नो समूहमा भित्र्याएका छन् भने गृहमन्त्री रामहादुर थापा ‘बादल’ लगायतका केही नेतालाई साथमा लिएर मन्त्रीसमेत बनाएका छन् ।

ओली सरकार प्रमुख वा प्रधानमन्त्री हुँदा पनि सांगठनिक रूपमा कमजोर हुँदै गएपछि उनी चिन्तित बन्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । बाहिर निर्धक्क भएर बोले पनि उनले भित्रभित्रै निकै कमजोर महसुस गर्दै गएको स्रोतको दाबी छ ।

बुधबार (हिजो) राजधानीको बृहत् विरोध सभामा बोल्दै प्रचण्डले –‘हामी कहाँ फर्किनेको लामो लिष्ट छ, ‘उहाँले नै बनाएका दुई जना मन्त्री आफ्नो समूहमा फर्किन मसँग वार्ता गरिरहेका छन् ।’ यसो भनेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीलाई उच्च निगरानी बढाएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले विशेष गरी पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका गृहमन्त्री रामहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, दावा लामा, मणिचन्द्र थापा र गौरीशंकर चौधरी, लेखराज भट्टमाथि निगरानी बढाएको बताइएको छ ।

यसकासाथै बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरू समेतलाई सोधपुछ गरेको बताइएको छ ।