कार्यक्रममा विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बोल्दै थिए । बोल्दाबोल्दै उनी एक्कासी रोकिए र भने ‘ऋषि जी चुप लाग्नुस्, प्रतिकृया पछि लिनुहोला, होहल्ला भयो, तपाईंहरु त्यहाँ अर्को कार्यक्रम नगर्नुस् ’ उनले यसरी हप्काइरहँदा सभा नै एकछिन स्तब्ध भएको थियो । कार्यक्रम चलिरहेका बेला मञ्चको नजिकै कार्यक्रम प्रभावित हुनेगरी पत्रकारहरुले सहभागिहरुको प्रतिकृया दिन मिल्दैन । तर केही टाढाबाट भने सहभागिहरुको कार्यक्रमप्रतिको प्रतिकृया लिन मिल्छ ।
आज बोल्ने वक्तामध्ये नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक थिए । उनी मिडियामा निकै सन्तुलन मिलाएर बोल्ने नेता हुन् । धेरैले उनको बोल्ने शैली र हाउभाउ प्रचण्डसित ठ्याक्कै मिल्छ भन्छन् । यसअघि माघमै काठमाडौंमा भएको सभामा वरियता नमिलेको भन्दै मञ्चमै रिसाएका थिए ।
आजको सभामा उनी ओली विरुद्ध शालिन तर निकै कडा भावमा प्रस्तुत भएका थिए । उनले ओलीको प्रतिगमनलाई जसरी पनि जित्ने हुंकार गरेका थिए । कार्यक्रम सञ्चालन गरिरहेका नेता लिलामणि पोखरेललाई उनी बेला बेला यसो र उसो भन्दै अह्राइरहेका थिए ।