• मंसिर १२ २०८१, बुधबार

दशलाख जनता लिएर बालुवाटार र सिंहदरवार घेर्न आउन नपरोस्: प्रचण्ड

माघ २८ २०७७, बुधबार

शान्तिपूर्ण विरोध प्रदर्शनको सुनुवाइ नहुने र लोकतन्त्र मास्ने तथा ठगीधन्दा चलाउनेहरुको कुरा सही हो भन्नेतिर विश्वास गर्न पुग्ने हो भने दशौं लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउने बाध्यता सिर्जना हुने भन्दै पुष्पकमल दाहाल प्रचण्डले त्यो बाध्यता नतिम्त्याउन सम्बन्धित सबैलाई चेतावनी दिएका छन् ।

आफूहरु व्यक्ति ओलीको विरुद्धमा नउत्रिएर प्रवृत्तिविरुद्ध उत्रिएकाले सडक संघर्ष एक अभियान र आन्दोलनको स्वरुप लिंदै गएको बताउँदै प्रचण्डले अहिले देशव्यापी भैरहेको आन्दोलन शान्तिपूर्ण रहँदै र ओलीको असंवैधानिक र निरंकुश कदमविरुद्ध अघि बढ्दै गर्दा यसले हरित क्रान्तिको स्वरुप धारण गर्नसक्ने दाबी गरे ।

आफूहरु कानुनी राजको पक्षमा रहेकाले नै संविधान निर्माण गर्दा २००७ सालदेखि २०४६ सालसम्मका सबै संविधानको मूल्यांकन गरी २०७२ सालमा नयाँ खालको संविधान निर्माण गरेको प्रचण्डले बताए । जनताका इच्छा आकांक्षाविरुद्ध गरिने कुनै पनि षड्यन्त्र नटिक्ने भन्दै केपी ओली अब धेरै दिन भ्रममा बाँच्न नसक्ने अबस्था सिर्जना भएकाले समय छदै प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर जनताका बीचमा आत्मालोचित हुन आएमा सानो कुनामा बस्ने ठाउँ अझैं पनि जनताले दिन सक्ने उनले बताए ।

यदि यी कुराहरुको कुनै पनि मान्यता नराखिए, राज्यका संरचनाहरु पनि बेखबर भए देशमा ठूलो आँधी आउने, हुरी चल्ने र ठगी धन्दा तासका महल झैं ढलेर सोत्तर हुने उनले बताए ।