समाचार टिप्पणी । नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरीले उनलाई खोजिरहेको समाचार बाहिरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी झाँक्रीलाई प्रहरीले खोजी सुरु गरेको हो । प्रतिनिधिसभा विघटनको विरोधमा गोरखामा आयोजित एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर सो विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले नेकपाले एमालेले विद्या भण्डारीले सेतो साडीको दुरुपयोग गरेर चुनाव जितेको बताएकी थिइन् । यद्यपी यसको जवाफ झाँक्रीलाई विदादेविकी छोरीले दिइसकेकी छिन् ।
सोही गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई खोजिरहेको हो । यदि यस्तो कुरा साँचो हो भने नेपालको राजनीति झन संकटतिर जाने अनुमान गर्नु पर्छ । प्रधानमन्त्री केपी ओलीले आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि संसद विघटन गरिदिएका थिए । सो घटनापछि नेपालका सबै दलहरु आन्दोलनमा छन् । संसद विघटन गर्ने कुरा असंवैधानिक भएको र तुरुन्त संसद पुनःस्थापना गरी संसद बैठक सुचारु हुनुपर्ने उनीहरुको माग रहेको छ । सडक आन्दोलनमा २ थरी वैचारीक धारहरु देखिएका छन् । एउटा, संसद पुनःस्थापना गरी सरकार बनाई यही संसद र सरकारबाट काम चलाउने र दोश्रो, यो व्यवस्थालाई हटाई नयाँ व्यवस्था स्थापना गर्ने ।
दोश्रोथरी विचार अनुसारको व्यवस्था स्थापना गर्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ भने पहिलो थरी विचार भने अहिलेको आन्दोलन चर्काउन सके सम्भव पनि देखिन्छ । यसमा विदेशी शक्तिहरुको रुची र योजनाको भने छुट्टै भाग रहेको छ । उता सरकारमा रहेको ओली पक्षधरहरु भने चुनाव गराउने र आफूले बहुमत ल्याई फेरि पनि बहुमतको सरकार बनाई विकासको कामलाई गति दिने भनिरहेको छ । यसरी २, ३ थरी विचार भएका राजनीतिक शक्तिहरुबीच चलेको सत्ता संघर्षले देशको भविश्य कता लाने हो ? अन्यौलकै विषय बनेको छ । भाषणमा नेताहरुले देश संकटमा परेको भनेपनि खासमा कामगरी खाने जनतालाई यो संकटले खासै प्रभाव पारेको देखिन्न । जनताको अवस्था उस्तै छ ।
बरु संकट सत्ता र सत्ताको वरिपरी रहेकाहरु छन् जसको सत्ताबाट प्राप्त हुने सेवा सुविधा गुमेको छ । जनतालाई भेला गराई एक अर्कोलाई जोड्जोड्ले ताछ्दै जनतालाई उत्तेजित बनाउने र हिंसात्मक तरिकाले उठाउने अवस्था देखिएको यो अवस्थामा रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने सरकारी तयारीले देश शान्त हुने संकेत दिन्छ की झडपतिर लान्छ ? प्रश्न उठेको छ । यदि उनलाई पक्राउ गरियो भने दाहाल नेपाल समूहबीच हाल चलिरहेको द्धन्द्धको आगोमा झन घिउ थपिने कुरा निश्चित छ । सामाजिक सञ्जालदेखि मिडिया र विभिन्न मञ्चहरुमा उनीहरुबीच जुनस्तरको गालिगलौजको अवस्था देखा परेको छ । त्यसलाई तन्काएर झडप र मारामारको अवस्थासम्म लैजाने की यसलाई मत्थर पार्दै टुङ्ग्याउने दिशातिर लैजाने भन्ने कसरा हालका चल्तापुर्जा नेताहरुमा भर पर्छ ।
नेपालको संसदीय राजनीति र छाडा लोकतन्त्रमा यस्ता खाले गालीगलौज हुने कुरालाई धेरै अन्यथा त मानिन्न तर राष्ट्रपतिको गरिमालाई मानमर्दन गर्नेगरी बोलेको भन्नेमा भने राजनीतिको असर देखिएको हो भन्ने बुझ्नु पर्दछ । त्यसकारण एकले अर्कोलाई गाली गर्ने संस्कार नेपाली लोकतन्त्रको स्वरुपमा निर्भर रहेको छ । यो लोकतन्त्र नेपाली समाज र नेपाली मूल्यमान्यता भन्दा अलि फरक खालको छ । कम्युनिस्ट आचरण अनुसारको त झन छँदैछैन । किनकी कम्युनिस्ट व्यवस्था भनेको उन्नत चेतना सहितको हुन्छ । यस्ता एकले अर्कोलाई गालीगलौज गर्ने भन्ने त हुँदैहुँदैन । कम्युनिस्ट समाज समानतामा आधारित समाज भएकोले आफ्नो वर्गको मानिसलाई गाली गर्ने भन्ने हुँदैन ।
त्यसकारण कुरा जे भएपनि झाँक्री र विद्या भण्डारीबीचको मतमतान्तरलाई स्वभाविकै मान्दै व्यक्तिगतरुपमा गालीगलौज भन्दा एकले अर्कोलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्छ । जनतामा गएर आफ्नो पार्टीको विचार र सिद्धान्त प्रचार गर्ने र जनतालाई आफ्नो पक्षमा तान्ने गर्दा पो मानसिव होला त, विपक्षीलाई तथानाम गाली गरेर जनतालाई आफ्नो बनाउन सकिएला र ? अर्कोलाई गालीगलौज गरेर आफ्नो उचाई बढाउन सकिएला र ?