• मंसिर १२ २०८१, बुधबार

काठमाडौंका ५ स्थानबाट जुलुस निकाल्ने दाहाल-नेपाल समूहको तयारी

माघ २६ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई प्रतिगामी कदम भन्दै आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड-माधव समूहले बुधबार काठमाडौँमा गर्न लागेको जनप्रदर्शन तथा सभालाई निर्णायक हुने बताएको छ । देशभरिबाट कार्यकर्ता राजधानी उतारेर माघ २८ गते गर्न लागेको सो प्रदर्शनको लागि सो समूहले पाँच स्थानबाट जुलुस निकाल्ने बताएको छ ।

केन्द्रिय संघर्ष समितिका अनुसार माघ २८ गते राजधानीमा आयोजित प्रतिगमन विरुद्ध वृहद विरोध प्रदर्शनको लागि बिहान ११ बजे विभिन्न पाँच स्थानबाट जुलुसहरु शुरु हुनेछन् । संघर्ष समितिका अनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट एकैसाथ शुरु भएर जुलुसहरु मूल जुलुसमा मिसिन जानेछन् ।

बताइए अनुसार पुल्चोकबाट शुरु हुने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिने छ । यो जुलुसको नेतृत्व नेताहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रमेश हमाल साथै ललितपुरका सबै केन्द्रिय सदस्यहरु, सम्बन्धित प्रदेश समितिका सदस्यहरु र संघ तथा प्रदेशका सदस्यहरुले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वरबाट शुरु हुने जुलुस त्रिपुरेश्वर, सुन्धाराहुँदै मुल जुलुसमा मिसिन जानेछ । सो जुलुसको नेतृत्व नेतृ अष्टलक्ष्मी शाक्य, नेताहरु घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रिय समिति सदस्यहरु, सम्बन्धित संघ तथा प्रदेशका सदस्यहरुले नेतृत्व गर्नेछन् ।

उता माइतीघरबाट शुरुहुने जुलुस थापाथली, त्रिपुरेश्वरहुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिने छ । यो जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रिय समिति सदस्यहरु, सम्बन्धित प्रदेश समिति, संघ तथा प्रदेशका सदस्यहरुले गर्नेछन् ।

केशरमहलबाट शरु हुने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्रचोक, जुद्ध शालिक, न्यूरोडहुँदै मुल जुलुसमा मिसिने छ । सो जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रिय समिति सदस्यहरु, सम्बन्धित प्रदेश समितिका सदस्यहरु, संघ तथा प्रदेशका सदस्यहरुले गर्नेछन् ।

त्यस्तै जमलबाट शुरुहुने जुलुस जमल, कमलाक्षी, असन, इन्द्रचोक, जुद्धशालिक, न्यूरोडहुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिने छ । यो जुलुसको नेतृत्व लिलामणि पोख्रेल, केन्द्रिय समिति सदस्यहरु, पेशागत संगठन हेर्ने केन्द्रिय सदस्यहरुले गर्नेछन् ।

सबै जुलुसहरु सुन्धारा पुगिसकेपछि १२ बजे मुल जुलुस सुन्धाराबाट वीर अस्पातल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनी मार्गहुँदै सभा स्थलमा पुग्नेछ ।