• मंसिर १२ २०८१, बुधबार

किन आमसभामार्फत् चुनावका लागि दबाब सिर्जना गर्न खोजे ओलीले !

माघ २३ २०७७, शुक्रबार

माघ २३ का दिन दरवार मार्गमा आयोजित वृहद आमसभालाई सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले न त प्रचण्ड–माधव पक्षले आशंका गरे झैं संघीयता र धर्मनिरपेक्षता विरुद्धमा अभिव्यक्ति दिए, न त उनले उपस्थित कार्यकर्तालाई चुनावका कार्यक्रम नै दिन सके । बरु, उनले उपस्थित सबैलाई चुनावमा जानका लागि तारन्तार आवाज उठाउन निर्देशित गरे ।

प्रम ओलीले भाषणकै बीचमा उपस्थित सबैलाई ‘चुनाव चाहियो’, ‘हामी चुनावमा जान्छौं’ भन्ने आशयको माग सामूहिक रुपमा अभिव्यक्त गर्न लगाइरहे । सभामा उपस्थित सबैले यसलाई मागका रुपमा दोहर्याए पनि । ओली स्वयम्ले पनि नाराका रुपमा यसलाई भट्याए ।

ओली पक्ष आफैले ताजा जनादेशका लागि चुनावको घोषणा गरेकाले चुनावको माग गर्नु नौलो कुरा होइन । तथापि चुनावको घोषणा गरेको र सत्ताको बागडोर पनि आफ्नै हातमा रहेको शक्तिले सडकबाट चुनाव चाहन्छौं भनी गरेको अपिल, आह्वान वा नारा भने आफैमा सन्देहात्मक भने छ ।

यदि चुनाव नै गर्ने गराउने हो भने पहिलो चरणको मतदानको समय अढाइ महिनाभन्दा बढि छैन । यति बेलासम्म चुनावका लागि राजनीतिक दलहरुले आआफ्ना राजनीतिक प्रचार प्रसारका लागि कार्यक्रम सार्वजनिक गरिसक्नु पर्दथ्यो । संसद पुनस्र्थापना वा चुनाव भन्ने विवाद सर्वोच्च अदालतबाट पनि फैसला नभइसकेकाले चुनावी कार्यक्रम ओलीले दिन चाहेनन् भन्ने तर्क उठ्न पनि सक्छ ।

तर एउटा राजनीतिक दलले आफ्नो घोषित कार्यक्रम सफल पार्न सामान्य कार्यक्रमिक निर्देशन दिन सक्छ । आज प्रम ओली यो अपेक्षित मौकाबाट पछि हटेका छन् । र, उनले कार्यकर्ताहरुलाई चुनाव चाहियो भनेर नारा लगाउन लगाएका छन् । यसले गम्भीर आशंका जन्माएको छ । त्यो हो, देशमा तत्काल चुनावको संकेतसम्म देखा परिरहेको छैन । ओलीले सभामा नारा लगाउन र चुनाव सम्पन्न गर्ने वातावरण निर्माण गर्न अपिल गरेपछि त अब तोकिएको चुनाव नहुने कुरा आकाश फाटेसरह देखिएको छ ।

यसको अर्को अर्थ हुन्छ, त्यसो भए संसद पुनस्र्थापना हुन्छ त ? यो संभावना कतै पनि देखिदैन । अदालतमा यस विषयमा विचार विमर्श भैरहेको छ । तथापि संसद पुनस्र्थापना ‘च्याचप्टर क्लोज’ को अवस्थामा पुगेको अनुभूत सबैमा छ । राजनीतिक वृत्तमा चलेको ‘सेटिङ’को हल्ला चुनाव वा संसद पुनस्र्थापनाका लागि होइन, बरु यी दुबैका अलावा देशमा राजनीतिक संक्रमणकाल लम्बिने संकेतका रुपमा देखा परिरहेको छ ।

माघ २३ को आमसभामा देशकै प्रधानमन्त्री रहेका ओलीले चुनावी वातावरण निर्माणका लागि दबाब सिर्जना गर्न उपस्थित सबैलाई नारा लाउन लगाउनुले पनि यस कुरालाई पुष्टि गर्छ ।