काठमाडौँ । संवैधानिक अङ्गमा पदाधिकारी नियुक्ति र शपथपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विमति जनाएको छ । काँग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै आन्दोलन झनै घनिभूत बनाउने बताएको हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति पार्टीको प्रस्ट विमति रहेको र विधि उल्लङ्घनको प्रवृत्तिलाई मान्न नसकिने भनेका छन् ।
‘विधि उल्लङ्घनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ । क्रमशः १) संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २) त्यसपछिको बैठक ३) आजको शपथ ग्रहण, दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, सङ्घर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौँ हामी ।’ प्रवक्ता शर्माले भनेका छन् ।