काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था समाप्त पर्ने योजनासहित जनयुद्धका योद्धालाई खरिद गर्न खोजिएको आरोप लगाएका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको समयमा टाउकोको मोल तोक्नेहरु अहिले व्यवस्था मास्न जनयुद्धका योद्धा खरिद गर्न अग्रसर भएको बताएका हुन । अध्यक्ष प्रचण्डले भने– ‘यो सबै सड्यन्त्र जालझेल हो । जनयुद्धको बेला हाम्रो टाउकोको मुल्य तोक्ने मान्छेहरु यही छन् । टाउको काट्न नपाएकोमा प्रश्चताप गरेर बसेका छन् । टाउको गिड्नु सक्नु पर्थो गिड्न सकिएन भनेर प्रश्चताप गरेर बनेका छन् । अहिले हामी यहाँ छौ । हामीलाई देखेर तिनलाई कति छटपटी हुन्छ होला ? झोलामा टाउको ल्याएर आउ ५० लाख लिएर जाउ भन्नेहरु अहिले पनि पैसा दिन्छौ भन्दै योद्धाहरुलाई किन्ने खेलमा लागेका छन् । संघीय लोकतान्त्रि गणतन्त्रलाई समाप्त पार्न योद्धाहरुलाई खरिद गर्ने कोशिस हुँदैछ ।’
उचित व्यवस्थापन गर्न नसक्दा नेतृत्वप्रति योद्धा असन्तुष्ट रहेता पनि व्यवस्था समाप्त पार्ने योजनामा योद्धा सहभागी हुन नसक्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । वर्तमान संकट समाधान गरेर सबै योद्धाको व्यवस्थापन गर्नै आश्वासन दिदै अध्यक्ष प्रचण्डले प्रधनमन्त्रीको असंवैधानिक कदमविरुद्ध संघर्षमा जुट्न योद्धाहरुलाई आग्रह समेत गरेका छन् ।