• मंसिर ११ २०८१, मंगलवार

भारतीय तरकारी रातारात भित्रिन्छ, नेपाली तरकारी बिक्नै छोड्यो

माघ १७ २०७७, शनिबार

भारतीय तरकारीले बजार पाउँदा नेपालका किसानले उत्पादन गरेको तरकारी बारीमै जोत्नुपर्ने अवस्था चितवनमा अझै अन्त्य भएको छैन । कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नभएर लाखौँको क्षति व्यहोरेका यहाँका किसानको समस्या जस्ताको तस्तै छ । कोभिडपछि कृषि पेसामा फर्किएका नयाँ उद्यमीहरू पनि कृषिको बजारीकरण देखेर निराश छन् ।

नेपाली बजार भारतीय उत्पादनका लागि सहज भए पनि नेपाली किसानका लागि असहज छ । भरतपुरमा रहेको तरकारीबजारमा समेत नेपाली किसानका तरकारीले भन्दा भारतीय तरकारीले बढी स्थान पाएका छन् । जसका कारण बैंक र सहकारीबाट चर्को ब्याजमा ऋण लिएर खेती गरेका किसानहरू न्यूनतम मूल्य पनि नपाएपछि आफ्नै उत्पादन ट्र्याक्टर लगाएर नष्ट गर्ने गर्छन् ।

आफूले उत्पादन गरेको कृषिउपजले बजार मूल्य नपाएपछि भरतपुर महानगरपालिका-२६ जुनेली गाउँका नवदत्त अधिकारीलेको १० कट्ठामा लगाएको काउली ट्र्याक्टरले जोते । गत २६ पुसमा बारीमा ट्र्याक्टर लगाएर उनले काउली नष्ट गरेका हुन् । १० कट्ठामा काउली लगाउन उनको झन्डै दुई लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् ।

अधिकारी एक प्रतिनिधि पात्र मात्र हुन्, यहाँका किसानले उत्पादन गरेका तरकारी, तरबुजा, काँक्रो, चुकन्दर बिक्री नभएपछि नष्ट गरिएका समाचार नयाँ पत्रिकामार्फत सार्वजनिक हुँदै आएका छन् । तर, जिल्लाका सरकारी कार्यालयहरूले किसानको पीरमर्का बुझ्ने र राहतका लागि केही काम गरेको देखिँदैन ।

चितवनमा मंसिरदेखि जेठसम्म जमिनअनुसार गोलभेडा उत्पादन हुन्छ । मुख्य उत्पादनकै समयमा भारतबाट ठूलो परिमाणमा गोलभेँडा नेपाल भित्रिने गरेका छन् । जसका कारण नेपाली किसानले गोलभेँडाको लागत मूल्यसमेत पाउँदैनन् । भारतबाट आएको गोलभेँडाका कारण चितवनका किसान लागत मूल्यभन्दा कममा गोलभेँडा बेच्न बाध्य छन् ।

भरतपुर-२५, पसाढापका गणेश भुसालले आफूले खेती गर्दै आएको २० बिघामध्ये सात बिघामा गोलभेँडा लगाएका छन् । त्यसमध्ये तीन बिघाको गोलभेडा बजारीकरण गर्ने समय भएको छ । चार बिघामा भने उनले भर्खरै बिरुवा लगाएका हुन् । ‘आफ्नो लागत मूल्य नै २० रुपैयाँ पर्छ, तर व्यापारीले २० रुपैयाँ दिन पनि गाह्रो मान्छन्,’ उनले दुःखेसो पोखे । प्रतिकेजी १५ देखि १८ रुपैयाँमा गोलभेँडा बेच्दै आएका किसान लागत पनि नआउँदा निराश हुनुपरेको उनी बताउँछन् । उपभोक्ताको भान्सामा पुग्दा गोलभेँडाको मूल्य ५० रुपैयाँ किलोसम्म पर्ने गरेको छ ।

भारतीय कृषि उत्पादन नेपालको भन्दा सस्तो छ । भारतमा सरकारले बिउ, मल, प्रविधि सहयोग गर्छ । तर, नेपालमा भने सरकारले केही सहुलियत दिँदैन । ‘भारतमा नेपालको भन्दा आधा खर्चमा किसानले उत्पादन गर्छन् । हामीले मल नपाएर गोलभेँडाका लागि कालोबजारीमार्फत आएको महँगो मल खरिद गरेर हाल्यौँ । त्यो पनि देशका विभिन्न सिमानामा पुग्नुपऱ्याे, देशको अवस्था यस्तो छ ।

भारत सरकारले बिउ, मल, प्राविधिक र प्रविधिसँगै बजारीकरणमा पनि प्रत्यक्ष सहयोग गर्ने भए उत्पादन लागत निकै सस्तो हुन्थ्यो । स्वाभाविक हो व्यापारीले नाफा बढी हेर्छन् । त्यसैले नेपाली उत्पादन किन्न चाहँदैनन् । हाम्रो बजार पनि व्यवस्थित छैन,’ भुसालले भने ।